तनहुँ : समयमै अस्पताल पुर्याएर बिरामीलाई नयाँ जीवन दिन एम्बुलेन्सको अपरिहार्य छ । विश्वव्यापी रुपमा फैलिएको नोभेल कोरोना भाईरसको सङ्क्रमणले एम्बुलेन्सको महत्व अझ बढाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकालाई कोरोना कहरमा सघाउन बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले एम्बुलेन्स उपलब्ध गराएको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिकाे शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मङ्गलबार नगर प्रमुख किसान गुरुङलाई महेन्द्र कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयाे ।
भन्सार छुटमा भारतबाट ल्याईएको एम्बुलेन्सलाई साढे १० लाख रुपैयाँ परेको कार्कीले बताउनुभयाे । सामाजिक उत्तरदायित्व वहन गर्दै यस क्षेत्रका ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको उहाँकाे भनाई छ ।
नगर क्षेत्रभित्र समयमै अस्पताल पुर्याउनुपनेृ बिरामीलाई एम्बुलेन्स अति उपयोगी हुने नगरप्रमुख गुरुङले बताउनुभयाे । हाल नगरपालिकाले खैरेनीटार स्वास्थ्यचाैकीमा सञ्चालनमा ल्याउन लागेको पाँच शैय्याको अस्थायी कोभिड अस्पतालमा एम्बुलेन्स प्रयोग गरिने उहाँले जानकारी दिनुभयाे ।
नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा कोरोना सङ्क्रमितलाई आइसाेलेशनमा र विदेश तथा जोखिमयुक्त स्थानबाट आएकालाई क्वारेन्टिनमा लैजान नम्बर ३ को मातहातमा रहेको एम्बुलेन्स मर्मत गरेर सञ्चालन गरिएकाे छ भने फूलबारी नेपालको एम्बुलेन्स भाडा तिर्ने सम्झौतामा प्रयोग भईरहेको छ ।
गत जेठमा शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा समेत सूर्य नेपालले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।