कृषकलाई ११ करोड अनुदान वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कृषकलाई ११ करोड अनुदान वितरण

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    तनहुँ : पशुपालन र कृषिखेती तर्फ आकर्षण बढाउन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि सेवा ज्ञान केन्द्र तनहुँले कृषकलाई अनुदान वितरण गरेको छ । पशुपालन र कृषिमा जिल्लालाई समृद्ध बनाउन र कृषकलाई कृषितर्फ आकर्षित गराउन दुई कार्यालयले रु ११ करोड १९ लाख ४४ हजार ८ सय ५० अनुदान रकम वितरण गरेको हो ।

    पशु सेवा विज्ञ केन्द्रले साना मोडल फार्म स्थापना, मत्स्यपोखरी निर्माण, माछाका भुरा खरिद, पाडापाडी, बाच्छाबाच्छी हुर्काउन, दूध सङ्कलन केन्द्र निर्माण लगायतमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५८ लाख ८९ हजार अनुदान वितरण गरेको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार उक्त रकम तनहुँ र नवलपुर जिल्लाका पशुपालक कृषकलाई वितरण गरिएको हो ।

    डा. श्रेष्ठका अनुसार साना मोडल फार्म स्थापनाका लागि रु दुई करोड ३१ लाख, मत्स्य पोखरी निर्माणका लागि रु ८ लाख १० हजार, माछाका भुरा खरिद तथा ढुवानीका लागि रु एक लाख, पाडापाडी बाच्छाबाच्छी हुर्काउनका लागि रु ६ लाख ५० हजार, उन्नत राँगो साढे खरिद तथा ढुवानीका लागि रु ४ लाख ८० हजार, प्रजनन् बोका खरिद तथा ढुवानीका लागि रु तीन लाख, फ्रेस हाउस सुधारका लागि रु ६ लाख, डेरीपसल सुधारका लागि रु ६ लाख, दूग्ध सङ्कलन केन्द्र स्थापनाका लागि रु दुई लाख ५० हजार, नयाँ पकेट क्षेत्र कार्यक्रमका लागि रु १४ लाख ८५ हजार, नयाँ मत्स्य पकेट सञ्चालनका लागि रु १५ लाख ७० हजार, पुराना मत्स्य ब्लक सञ्चालनका लागि रु २२ लाख ९४ हजार अनुदान वितरण गरिएको छ ।

    कृषि ज्ञान केन्द्रले भने रु ७ करोड ६० लाख ५५ हजार ८ सय ५० अनुदान रकम वितरण गरेको छ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले तनहुँ र नवलपुर दुई जिल्लामा गरी उक्त अनुदान रकम वितरण गरिएको जानकारी दिनुभयो ।

    अनुदानग्राहीहरुले रु चार करोड ४९ लाख १२ हजार ३ सय ४० लागत सहभागिता बेहोरेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा कृषि विकास कार्यक्रम मार्फत् तनहुँ तथा नवलपुरमा रु १२ करोड ९ लाख ६८ हजार एक सय ९० बराबरको लगानी भएको छ । तिवारीका अनुसार ३ हजार ९ सय ६५ मौरी घार, १ हजार ४ सय ६४ थान कृषि उपकरण अजुदानमा वितरण गरिएको छ भने १ सय ३४ वटा प्लाष्टिक टनेल निर्माण गरिएको छ ।

    कृषकले भने अनुदान भन्दा पनि बजारको व्यवस्था गरिदिन माग गरेका छन् । व्यास नगरपालिका–१ का पोल्ट्री व्यवसायी खेमराज अधिकारीले सरोकारवाला निकायले बजारको व्यवस्था गरिदिए कृषकलाई सहज हुने बताउनुभयो । “कृषकले उत्पादन गरेका सामग्री विक्री वितरणका लागि बजारको सुनिश्चित हुनुपर्छ,” उहाँले भन्नुभयो, “बजार नभए अनुदान दिएको अर्थ छैन ।”