तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले टुँडिखेलमा शिशाको दृश्यावलोकन विन्दु निर्माण गर्ने तयारी गरेको छ । देश तथा विदेशमा परिचित बन्दीपुरमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउँदै पर्यटनको माध्यमबाट समृद्ध गाउँपालिका बनाउने उद्देश्य सहित शिशाको दृश्यावलोकन विन्दु निर्माण गर्न लागिएको हो ।
दृश्यावलोकन विन्दुको डिपीआर सम्पन्न भएको र अब दशै अगाडी नै टेण्डर निकाल्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । दृश्यावलोकन विन्दुका लागि रु दुई करोड बजेट अनुमान गरिएको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकन विन्दु निर्माण गरिनेछ ।
“दृश्यावलोकन विन्दुसँगै अन्य पूर्वाधार पनि निर्माण गर्छौ,” उहाँले भन्नुभयो, “पार्क, रेष्टुुरेण्ट, सांस्कृतिक केन्द्र लगायतका पूर्वाधार निर्माण गर्दा करीब रु ७ करोड बजेट आवश्यक पर्छ ।” दृश्यावलोकन विन्दु निर्माणका लागि सङ्घीय सरकारसँग पनि बजेट माग गरिएको छ ।
टुँडिखेलमा निर्माण गरिने सांस्कृतिक केन्द्रमा विभिन्न जातजातिको संस्कृति प्रदर्शन गरिनेछ । त्यसका लागि पर्यटकले टिकट खरिद गर्नुपर्ने व्यवस्था मिलाइनेछ । “दिनभर पर्यटकले दृश्यावलोकन विन्दुबाट दृश्यहरु अवलोकन गर्छन्, रात परेपछि विभिन्न जातजातिको संस्कृति पनि,” उहाँले भन्नुभयो । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ बाट वार्षिक रु दुई करोड आम्दानी हुने लक्ष्य लिइएको छ ।
बन्दीपुर गाउँपालिका २० वर्षे गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने अभियानमा अगाडी बढेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो । “बन्दीपुरको मुख्य आधार पर्यटन हो, पर्यटनकै माध्यमबाट गाउँपालिकाको विकासका लागि गुरुयोजना सहित अगाडी बढेका छौ,” उहाँले भन्नुभयो ।