मिर्गौला पीडित रानालाई हङकङ र अमेरिकाबाट रु ५० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित रानालाई हङकङ र अमेरिकाबाट रु ५० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानाको उपचारमा सहयोग पुर्याउन हङकङ र अमेरिकाबाट रु ५० हजार प्राप्त भएको छ । छाब्दी घर भई हाल हङकङमा रहनुभएका राम आले, अमेरिकामा रहनुभएका डोलबहादुर आले र रवि आलेबाट मिर्गौला पीडित रानाको उपचारका लागि रु ५० हजार सहयोग जुटेको हो ।

    उक्त रकम उहाँहरुका आमा कुमारी आले र बहिनी मञ्जु राना मार्फत् प्राप्त भई मिर्गौला पीडित रानालाई वडाध्यक्ष काजीमान श्रेष्ठले हस्तान्तरण गर्नुभयो । मिर्गौला फेल भएर डायलासिस गराइरहेका युवाको लागि देश तथा विदेशबाट रकम सङ्कलन भइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    सन्तोष बचाउ अभियान मार्फत् केही समय अगाडी मात्रै रु ६ लाख ५८ हजार ६ सय २४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पीडितलाई हस्तान्तरण गरिसकिएको अभियानका संयोजक युवराज आलेले जानकारी दिनुभयो । “मिर्गौला पीडित सन्तोषको बारेमा जानकारी पाएपछि उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन ग¥यौ, उक्त अभियानमा सबैले सहयोग गरिदिनुभयो,” आलेले भन्नुभयो ।

    यसैगरी अमेरिकामा पनि रु ६ लाख भन्दा बढी रकम सङ्कलन भएको छ । न्युयोर्कमा आशिष थापा र कुलदीप राना मगरको पहलमा दुई हजार ६ सय ८१ डलर र टेक्सासमा भीम थापाको पहलमा दुई हजार ७ सय ७० डलर सङ्कलन भएको छ । टेक्सासमा रहनुभएका भीम थापाले जिल्लावासी युवकलाई परेको पीडामा सघाउन अमेरिकामा रहेका नेपालीहरुबाट रकम सङ्कलन गरिएको जानकारी दिनुभयो ।

    गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सन्तोषले सहयोगको अपिल गर्दै आउनुभएको थियो । प्राप्त रकमले अब मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुग्ने भएकाले बाँच्ने आशा पलाएको सन्तोषले बताउनुभयो ।