तनहुँ : कोभिड–१९ को सङ्कटका बाबजुद पनि तनहुँको बन्दीपुरमा निर्माण शुरु भएको बन्दीपुर केबलकारको कामले गति लिएको छ । नेपालमा बन्दाबन्दी लागु गरिएको केही समय काम अवरुद्ध भएपनि त्यसपछि निरन्तर रुपमा केबलकारको कामले गति लिएको हो ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले सङ्कटकै बीचमा पनि केबलकारको कामलाई तीव्र पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार ८०–८५ जना मजदुर प्रयोग गरी केबलकारको पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ ।
केबलकारको तल्लो स्टेशनको भवन निर्माण ८० प्रतिशत सकिएको छ भने माथिल्लो स्टेशनको फाउण्डेशनको काम शुरु भएको छ । चार तारे होटल सहितको ‘क्विन टावर’ को पनि भुइतल्लाको ढलान शुरु गरिएको छ । “तल्लो स्टेशनमा तीन तल्लाको भवन लगभग सकिने अवस्थामा पुगेको छ, माथिल्लो स्टेशन र क्विन टावरको काम पनि शुरु भएको छ,” शर्माले भन्नुभयो, “कहिले सङ्घीय सरकारको बन्दाबन्दी, कहिले स्थानीय सरकारको बन्दाबन्दीकाम बीचमा पनि काम भइरहेको छ ।” उहाँका अनुसार मजदुरलाई काममा खटाउँदा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरिएको छ ।
शर्माका अनुसार केबलकारको टावरका सबै काम सकिएको र केबलकारको बाक्सा जडान गर्न बाँकी छ । भारतबाट सामग्री ल्याउनुपर्ने भएकाले कठिनाई भएको उहाँले बताउनुभयो । “भारतबाट अहिले सामग्रीहरु ल्याउन गाह्रो परिरहेको छ, कोभिड–१९ को सङ्कट नभएको भए काम धेरै अगाडी बढिसक्थ्यो,” शर्माले भन्नुभयो ।
उहाँका अनुसार अन्य पूर्वाधार निर्माण जारी रहँदै फागुनमा केबलकार भने सञ्चालन गर्ने तयारी गरिएको थियो । तर सामग्री ल्याउन नसकिएकाले केबलकार सञ्चालनको तयारी पनि पछाडि धकेलिने भएको छ । कोभिडको सङ्कटका कारण पूर्वाधार निर्माणको खर्च नबढेपनि अन्य खर्च दश प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टशेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन निर्माण भइरहेको छ । माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चार तारे होटल पनि निर्माण हुनेछ । चारतारे होटल निर्माणको जिम्मा काठमाडौस्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैङ्कसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्युटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।
बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु १ अर्ब ५६ करोड रहेको छ । केवलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाडौस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताको रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडी बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार एक सय भन्दा बढी लगानीकर्ता रहेका छन् ।
प्रारम्भमा रु ५६ करोडको लागतमा केवलकार सम्पन्न गर्ने योजना रहेकोमा कम्पनीले केवलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।
कम्पनीले केवलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरे बापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।