तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ११ फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैकिङ कसुर, सवारी ज्यान, सम्बन्ध विच्छेद, जारी मुद्दा र नाता कायम मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
बैकिङ कसुर मुद्दामा म्याग्दे गाउँपालिका–१ का चामबहादुर थापा पक्राउ परेका छन् । उच्च अदालत पाटनले विसं २०७६ माघ १७ गतेको थापालाई रु दुई लाख जरीवानाको फैसला सुनाएको थियो ।
त्यस्तै सवारी ज्यान मुद्दामा भएको फैसलामध्ये आठ दिन कैद र रु दुई हजार जरीवाना तिर्न बाँकी रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार सात, जारी मुद्दामा एक र नाता कायम मुद्दाका एक जना प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ गरिएका सबैलाई कैद तथा जरीवाना भुक्तानका लागि जिल्ला अदालत तनहुँ उपस्थित गराइएको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ ।
प्रहरीले यस अगाडी असार पहिलो सातादेखि असोज पहिलो सातासम्म १ सय २८ फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।