तनहुँ : तनहुँको विभिन्न ठाउँमा शनिबार भएका सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकामा भएको दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–३ पसलेमा दूध बोक्ने बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ग २ च १०६७ नं को दूध बोक्ने जीप आफै अनियन्त्रित भई सडकबाट पल्टिदा जीप चालक पोखरा महानगरपालिका–३१ बस्ने २६ वर्षीय सन्दिप र गाडीमा सवार निजका भान्जा १९ वर्षीय सुजन परियार घाइते भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी ऋषिङ गाउँपालिका–८ दुईघरे स्थित ढुङ्गाडे मानपुर कच्ची सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । ढुङ्गाडेबाट मानपुर जाँदै गरेको ग ८ प १२६७ नं को मोटरसाइकलको ठक्करबाट स्थानीय ८२ वर्षीया मैनादेवी श्रेष्ठ घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ ।