


काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्का रिक्त नौ जना र राखेप अध्यक्षको हैसियतमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले दुई जना बोर्ड सदस्य नियुक्त गरिएको हो।
बोर्ड सदस्यमा नियुक्त हुनेहरूमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई, सुमित्रा चौधरी, रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठ हुनुहुन्छ ।
पूर्वफुटबल खेलाडी हरि खड्का प्रदेश १ को खस आर्य कोटाबाट सदस्यमा नियुक्त हुनुभएको हो । यसैगरी मानदेव हजारा प्रदेश २ को मधेसी दलित, पुरेन्द्रविक्रम लाखे बागमती प्रदेशको जनजाति, राजेश गुरुङ गण्डकी प्रदेशको जनजाति र मोहमद सागिर शेख प्रदेश २ को मुस्लिम समुदाय कोटाबाट सदस्यमा नियुक्त हुनुभएको हो। यस्तै नन्दा बस्याल कर्णाली प्रदेशको महिला कोटामा, एकेन्द्र कुँवर सुदूरपश्चिम प्रदेशको पिछडिएको क्षेत्र कोटामा, चन्द्रवदना राई प्रदेश १ को महिला कोटामा र सुमित्रा चौधरी थारू प्रदेश ५ को महिला कोटाबाट सदस्यमा मनोनीत हुनुभएको हो ।
राखेपको अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।