बिस्तारामै विमायाको खुट्टाको प्लाष्टर (रिपोर्ट र तस्बिर सहित )
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिस्तारामै विमायाको खुट्टाको प्लाष्टर (रिपोर्ट र तस्बिर सहित )

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : बन्दीपुर गाउँपालिका–२ आरथुम्काकी ५१ वर्षीया विमाया भुजेल महिना दिनदेखि बिस्तारामै थला हुनुहुन्छ । पाँच वर्षअगाडी भाच्चिएको देब्रे खुट्टाको घुँडामुनिको भाग भदौ १९ गते फेरि अर्को ठाउँमा भाच्चिएपछि हिँडडुल गर्न नसक्ने हुनुभएको हो ।

    स्याउलामाथि खिया लाएको जस्ताले छाएको छाप्रो । निहुरिएर पनि भित्र पस्नलाई बढो मुस्किल । छाप्रोभित्र भुजेल लडिरहनुभएको छ । पाँच वर्ष अगाडी देब्रो खुट्टाको घुँडामाथि भाँच्चिदा उहाँले घस्रिएर पाईला चालिरहनु भएको थियो । उपचार गर्नुको सट्टा भाँच्चिएको खुट्टामा कपडाले कस्नुभयो । जडिबुटीको लेदो धसेर बस्नुभयो । उपचार गर्नलाई अस्पताल जान उहाँसँग न पैसा थियो, न स्वास्थ्य सचेतना ।

    विनोद ढुंगानाले तयार पारेको अडियो रिपोर्ट

    दिउँसो उखरमउलो गर्मीमा पनि छाप्रोभित्र बसिरहनुभएको थियो उहाँ । लायन्स क्लब अफ पोखरा पिपल चौतारीका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठ, सचिव डाक्टर विवेक लम्सालको टोली घरमै पुगेर भाँच्चिएको खुट्टा प्लास्टर गरिदिनुभयो । दुखाई कम गर्न औषधी दिई महिना दिनपछि फेरि जाँच्न आउने वाचा गर्दै उहाँहरु फर्कनुभयो ।

    दोस्रो पटक खुट्टा भाँच्चिएको महिना दिनपछि घरमै उपचार पाउदाँ उहाँको मन उखरमउलो गर्मीमा पनि शितलो भयो । पीडा सहेर मुसुक्क मुस्कुराउँदै भन्नुभयो, ‘तपाईहरुलाई धेरै धन्यवाद ! मलाई खुशी लायो । तपाईहरु घरमै आएर मेरो उपचार गर्दिनुभयो ।’

    पाँच वर्षअगाडी विमायाको खुट्टा पहिलोपटक भाँच्चिएको थियो । पोखराको मणिपाल अस्पतालसम्म पुर्याएर उपचार गराएको उहाँका श्रीमान सोमबहादुर बताउनुहुन्छ । महिनौसम्म लाखौँ रुपैयाँ खर्चदा पनि निको नभएको उहाँले सुनाउनुभयो । ‘ठिक नभएपछि अप्रेशन गरी खुट्टामा स्टिल राखी ल्याएको हो । दाैडदा दाैडदै स्टिल निस्कियो । आँपपिपल लगेर निकालेर ल्याको’, उहाँले बेलिविस्तार लाउनुभयो । त्यपछि विमायाको खुट्टाले टेक्न भर पाएन । घस्रिएरै जिन्दगीको पाईला निरन्तर चलिरह्यो । तर, भदौ १९ गते फेरि अर्को ठाउँमा भाँच्चियो । उपचार गर्न लैजान पैसा नभएर घरमै राखेको सोमबहादुर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आर्थिक अवस्था कमजोर छ । पहिल्यै त्यत्रो खर्च भईगयो । आम्दानी छैन् । छोरा पनि बेपत्ता छ । त्यै भएर अस्पताल लगिन् ।’


    लायन्स क्लब अफ पोखरा पिपल चौतारी र लायन्स क्लब अफ पोखरा सर्मपणले आरथुम्कामा बृहत स्वास्थ्य शिविर चलाएर विमायासंगै थला परेका अन्य दुई जनाको पनि घरमै पुगेर परीक्षण गरिदिएको छ । पोखराबाट पुगेका तीन जना डाक्टर र दुई जना स्टाफ नर्सले स्वास्थ्य सेवा दिएका हुन् । उक्त शिविर ९६ जना लाभन्वित भए । ५० हजार बराबरको निशुल्क औषधी वितरण गरेको क्लबले जनाएको छ ।

    ६६ वर्षीय श्रीलाल भुजेलले शिविरमा गएर स्वास्थ्य परीक्षण गराउनुभयो । महिनौँ अघि लडेर ढाड दुख्न थालेको बताउने उहाँले निशुल्क जाँच गराएर औषधी पाएपछि निको हुने आशा पलाएको उल्लेख गर्नुभयो । ढाड दुख्न थालेपछि पनि किन अस्पताल नगएको भनेर खोतल्दा उहाँको जवाफ थियो, ‘पैसा नि छैन । अस्पताल गएपछि मैसा माग्छन । त्यसैले गईन ।’
    भुजेल समुदायमा अस्पतालको सेवा मंहगो हुने भान छ । गाउँपालिकाको मुकामबाट नजिकै रहेपनि यहाँका भुजेल सुमदायमा अशिक्षित हुदा स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् । स्थानिय स्वास्थ्यप्रति सचेत नहुदाँ रोग पालेरै बस्ने गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘बृद्धबृद्धा, महिला र केटाकेटी रोग पालेर बसेका छन्’, उहाँले भन्नुभयो । श्रेष्ठका अनुसार क्लबले आरथुम्कामा स्वास्थ्यकर्मीसहितको ‘हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याउने तयारी छ ।


    यसअगाडी असोज २ गते पिपल चौतारीको टोली पुगेर आरथुम्कामा खाद्यन्नका सामाग्री वितरण गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले विमाया भुजेलको पिडादयी अवस्थाको फोटो सामाजिक सञ्जालमा पोस्ट्याएपछि क्लबले त्यहाँ पुगेर सघाउन चासो देखाएको हो । गाउँमा पुगेपछि स्थानीयको अवस्था झनै दयनिय देख्दा क्लबले गाउँको मुहार फेर्ने अठोट गरेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । ‘एकीकृत बस्ती बसाल्नेदेखी उत्पादनसंग जोड्ने योजनामा छौँ’, डा. श्रेष्ठ भन्नुहुन्छ, ‘गरिबी र अशिक्षाले पिल्सिएको बस्तीमा क्रमिक परिर्वतन ल्याउनुछ ।’

    लायन्स इन्टरनेशनल ३ सय २५ वि वान नेपालका वि वानका पिआरओ इन चिफ राम बसेलले जहाँ दिन दुखी त्यहाँ लायन्स पुगेर सेवा गर्ने बताउनुभयो । उहाँले भुजेलको गाउँ परिवर्तनमा लायन्स क्लब लागीपर्ने बताउनुभयो ।

    लायन्स क्लब अफ पोखरा सर्मपणकी अध्यक्ष भावना बसेलले आगामी दिनमा पनि भुजेल गाउँलाई सघाउदै जाने प्रतिबद्धता जनाईन् ।


    यो बस्तीमा ३५ घर छ । भुजेल समुदाय सीपले भने धनी छ । बाँसबाट बन्ने नाङलो, डोको,डालो जस्ता सामाग्री बनाएर बजारमा विक्री गर्छन् । तर, चेतनाको स्तर कम हुदाँ आम्दानी मदिरापन र खानपानमै खर्चन्छन् । बचत गर्न सिकाउन लायन्सले शहकारीको अवधारणा पनि ल्याएको छ ।


    गाउँभन्दा एक घण्टाको दुरीमा कुकुर्दीमा आधारभुत स्वास्थ्य चौकी छ । तर, भुजेल समुदायमा उपचार गराउन जाने प्रवृत्ति नरहेको वडाध्यक्ष कृष्णप्रसाद लामीछाने बताउनुहुन्छ । ‘स्वास्थ्यको ख्याल राख्दैनन् । सरसफाई गर्नुपर्छ, खानपानमा ध्यान दिनुस भनेर सचेत गराउँछौ । व्यवहारमा लागु हुदैन’, उहाँले भन्नुभयो । खानपानकै कारण बढी रोग देखिएको वडाध्यक्ष लामीछानेले उल्लेख गर्नुभयो ।


    संविधानमा जनताले नैसर्गिक अधिकार स्वास्थ्य सेवा उल्लेख भएकाले सबैको पुहँचमा पु¥याउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो। ‘सरकारलाई थाहा हुनुपर्छ को नागरिक बिरामी भएको छ । खुट्टा भाच्चिएर थला परेको पालिकालाई थाहा भएको भए हामीले उपचार गरिदिन्थ्यौँ’, उहाँले भन्नुभयो । आरथुम्कामा जनचेतनाकै कमी भएको उहाँ सुनाउनुहुन्छ । जनचेतना फैलाउनलाई कार्यक्रम गर्दै आएपनि गाउँको नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिको अभावमा गाउँपालिकाको प्रयासले सार्थकता नपाएको उहाँको भनाई छ ।