तनहुँ : दशैँ तिहार नजिकदैछ । यो वर्ष कोरोना भाईरस संक्रमण बढिरहेकाले बजारमा विगतको जस्तो त्यति भिड छैन । बजारमा भिड नदेखिए पनि चाडपर्वका लागि सरसामन त खरिदविक्री हुन्छ नै । व्यपारीले चाडपर्वको मौका छोपेर उपभोक्तासंग चर्को मुल्य लिने र म्याद नाघेका अखाद्य बस्तु विक्री वितरण गर्न सक्ने भएकाले तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि बजार अनुगमन थालेको छ ।
सोमबार दुलेगौँडा बजारमा सञ्चालित खाद्यान्नका सामग्री विक्री वितरण गर्ने पसल अनुगमन गरियो । दुई दर्जन पसलमा भएको अनुगमनमा अधिंकाशले नगरपालिकामा दर्ता नगरेको पाइएको छ । ‘नगरमा दर्ता नभइ सञ्चालन गरेको पाएका छौँ । दर्ता हुन आउन भनेका छौँ’, शुक्लागण्डकी नगरपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण लम्सालले भन्नुभयो ।
व्यवसाय सञ्चालन गर्दा स्थानिय तहमा अनिवार्य व्यवसाय दर्ता हुनुपर्ने प्रावधान छ । नगरपालिकाले बेलाबखतमा व्यवसाय दर्ता गर्न अनुरोध गरिरहेपनि व्यवसायीले भने अटेरी गर्दै आईरहेका छन् । कतिपयले दर्ता गरेरपनि बर्षौदेखी नविकरण गरेका छैनन् ।
यस्तै, नगरपालिकाका कर्मचारी, यहाँका दुई उद्योग वाणिज्य संघका प्रतिनिधीसहितको अनुगमन टोलीले उपभोग्य म्याद नाघेका घ्यू, जिरा मसला, वियर, जुस लगायतका वस्तु जफत गरेको छ । जफत गरिएका ती बस्तु कानुन बमोजिम नष्ट गरिने लम्सालले बताउनुभयो । नगरक्षेत्रको प्रमुख व्यापारिक क्षेत्र दुलेगौँडासंगै, खैरेनीटार, कोत्रे र साँखे बजार अनुगमन गर्ने नगरपालिकाले जनाएको छ ।