तनहुँ : तनहुँको व्यास नगरपालिकामा दिनदिनै कोरोना सङ्क्रमित बढ्दै गएपनि तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको नगरपालिकाले जनाएको छ । मङ्गलबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नगरपालिकाले नेपालीहरुको महान् पर्व दशैं तिहार नजिकिदै गरेकाले तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको जनाएको छ ।
चाडपर्वका समयमा घर परिवारका सदस्य आउने जाने, व्यापार व्यवसाय चल्ने भएकाले लकडाउन गर्न गाह्रो भएको नगरपालिकाले जनाएको छ । सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दा सावधानी र सतर्कता नअपनाए तनहुँ जिल्लाकै सदरमुकाम रही छिमेकी जिल्लाहरुम आइजाई गर्ने खासगरी दमौली बजारमा सङ्क्रमण बढ्ने नगरपालिकाले जनाएको छ । सोमबारसम्म व्यास नगरपालिकामा २ हजार ६ जनाको पिसीआर परीक्षण गरिएकामा १ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार मात्रै थप १६ जनामा सङ्क्रमण देखिएको छ । दिनप्रतिदिन सङ्क्रमण बढ्दै गएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।