चितुवाले छोरा खोसेको परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवाले छोरा खोसेको परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७७, बिहीबार

    तनहुँ: चितुवाको आक्रमणबाट ११ महिने छोरा गुमाएका शुक्लागण्डकी नगरपालिका–२ मसारका विष्णुबहादुर रानाको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले बिहीबार पीडित परिवारलाई ९ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।

    उक्त रकमको चेक सङ्घीय सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले हस्तान्तरण गर्नुभयो । सो क्रममा सांसद सिग्देलले सरकार जनताको सुखदुखमा सँगै रहेको बताउनुभयो । उहाँले जङ्गल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गईरहेको बताउँदै यस्ता घटना दोहोरिन नदिन चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।

    प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हुदै गएकाले सुरक्षित घरवासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । ‘वन्यजन्तुको आहारा जङ्गलमा पाउन छाडेकाले चितुवा बस्तीमा पसेको छ । जङ्गलमा पर्याप्त आहाराको व्यवस्थापन गर्न सके आक्रमणका घटनामा कमी आउँछ,’ उहाँले भन्नुभयो ।

    गत साउन २१ गते घरमै आमा कृष्णमायाको काखैबाट खोसेर ११ महिने बालक नारायणलाई चितुवाले आहारा बनाएको थियो । तत्कालै घटनास्थल पुगेर डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चबापत ५० हजार रुपैयाँ राहत दिएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप १० लाख रुपैयाँ दिईने प्रावधान रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

    २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो । त्यसपछि चितुवाले श्रृंखलाबद्ध बालबालिकामाथि आक्रमण गरिरहेको छ । तीन वर्षसम्म पनि आक्रमण रोकिएको छैन । तनहुुँमा हालसम्म १० जनाको चितुवाको आक्रमणबाट ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।चितुवाको आक्रमणमा पर्ने सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । पिँढीमै आएर चितुवाले बालबालिकालाई सिकार बनाउने क्रम निरन्तर बढेपछि जिल्लावासी आतंकित छन् ।