तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँ गण्डकी प्रदेशमै उत्कृष्ट हुन सफल भएको छ । गण्डकी प्रदेश कार्यालय पोखराले तनहुँ प्रहरीलाई प्रदेशकै उत्कृष्ट घोषणा गरेको हो ।
वार्षिक कार्ययोजना अनुसार त्रैमासिक कार्य सम्पादनको आधारमा तनहुँलाई उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरी पुरस्कृत गरिएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक घनश्याम अर्यालले जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठ, उत्कृष्ठ ट्राफिक व्यवस्थापन तर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की, उत्कृष्ट प्रहरी कार्य तर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ प्रहरी नायव निरीक्षक टिकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्य तर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगी तर्फ प्रहरी कार्यालय सहयोगी बुधराम बि.क.लाई नगद पुरस्कार एवं सम्मान पत्र समेत प्रदान गरेको छ ।
जिल्लावासी सबैको साथ र सहयोगले तनहुँ प्रहरी उत्कृष्ट हुन सफल भएको प्रहरी उपरिक्षक अरुण पौडेलले बताउनुभयो । “प्रहरी एक्लैको मात्रै नभई सबैको सहयोगले यो सम्भव भएको हो,” उहॉले भन्नुभयो ।
प्रहरी उपरिक्षक तनहुँ आएपछि १ सय ९१ फरार प्रतिवादी पक्राउ परेका छन् भने जिल्लाका विभिन्न स्थानमा ट्राफिक व्यवस्थापनका काम भएका छन् ।