तनहुँ : कोभिड-१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वमा चियापान तथा शुभकामना आदानप्रदान नगर्न अनुरोध गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले नजिकिदै गरेको चाडपर्वमा चियापान तथा शुभकामना आदानप्रदान नगर्न अनुरोध गरेको हो ।
कोभिड-१९ को जोखिम कम गर्दै चाडपर्व मनाउनुका साथै आफ्ना दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्ने भएकाले सावधानी अपनाउनुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड हुने जमघट नगर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
प्रशासनले चाडपर्व मनाउँदा सकभर जो जहॉ रहेका छौ सोही ठाउँमा रही सदस्यबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ । पूजापाठलाई घरघरमै सीमित गर्न, मन्दिर र तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुल्ला नगर्न नगराउन प्रशासनले सचेत गराएको छ ।