तनहुँ : तनहुँको व्यास नगरपालिका-१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष राना मगरलाई अमेरिकामा सङ्कलन भएको करिब साढे ६ लाख शनिबार हस्तान्तरण गरिएको छ ।
मिर्गौला पीडित रानाको उपचारका लागि सङ्कलन गरिएको रु ६ लाख ४५ हजार २ सय १० शनिबार हस्तान्तरण गरिएको हो । अमेरिकाको टेक्सासमा भीम थापा र भुवन आले र न्युयोर्कमा आशिष थापा र कुलदिप राना मगरको पहलमा उक्त रकम सङ्कलन भएको थियो ।
भीम थापाका बुबा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमै पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको छ । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
रकम सङ्कलनमा भूमिका खेल्नुहुने भीम थापाले यो अभियानमा जोडिएर सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।