पहिरो पीडितलाई सरकारको राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरो पीडितलाई सरकारको राहत

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको विभिन्न स्थानमा पहिरोबाट ज्यान गुमाएका पीडितका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । जिल्लाको भानु नगरपालिका र व्यास नगरपालिकामा गत असारमा पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारको तर्फबाट रु पाँच लाख प्रदान गरिएको हो ।

    भानु नगरपालिका–९ का दुई मृतकको परिवारलाई सङ्घीय सरकारको तर्फबाट रु एक लाख र प्रदेश सरकारको तर्फबाट रु ५०/५० हजार हस्तान्तरण गरिएको छ । त्यस्तै व्यास नगरपालिका–११ ओडारेका एक जना मृतकको परिवारलाई सङ्घीय सरकारको तर्फबाट रु एक लाख र व्यास नगरपालिका–९ माझफाँटका चार मृतकको परिवारलाई प्रदेश सरकारको तर्फबाट रु ५०÷५० हजार हस्तान्तरण गरिएको छ ।

    भानु नगरपालिका–९ सिमलगैह्रामा साउन ५ गते पहिरोमा पुरिएर ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीको निधन भएको थियो । व्यास नगरपालिका–११ ओडारेका ३८ वर्षीय पदम भुजेलको असार २९ गते निधन भएको थियो । त्यस्तै असार २९ गते नै व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अन्जना थापा र २० वर्षीय राजेश थापाको मृत्यु भएको थियो ।

    पीडित परिवारलाई राहत वितरण गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनताको दुःखमा सरकार साथमा रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पहिरोमा मृत्यु भएका परिवारलाई थप राहत दिने कार्यविधि बमोजिम व्यास नगरपालिका–११ का भुजेलको परिवारलाई थप रु एक लाख प्रदान गरिएको जानकारी दिनुभयो ।