तनहुँ : हिन्दु धर्मलम्वीहरु ठुलो पर्व हो बडादशैँ । बडादशैँको नवरात्र अवधिभर विभिन्न मठमन्दिर धाउने, पुजा अर्चना गर्ने, वली दिने प्रचलन छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण फैलने जोखिमले यो वर्ष नवरात्रको अवधिभर मठमन्दिर प्राय बन्द र सुनसान रहे । अरु बेला खुलेका मन्दिर पनि नवरात्रमा भने सरकारको निर्देशन अनुसार बन्द भए ।
नवरात्रमा दर्शनार्थीको थेगी नसक्नु चाप हुने तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरबाराही मन्दिर यसपाली बन्द नै रह्यो । एकाविहानै मन्दिर खोलेर पुजारीले नियमित नित्य पूजा गरेपनि दर्शनार्थीको लागि भने खुलेन । ढोरबाराही मन्दिर पूजा व्यवस्थापन समितिले ठाउँठाउँमा मन्दिर बन्द रहेको सुचना फ्लेक्स बोर्डमा दर्शनार्थीलाई नआउन सुचित गराएको थियो । तैपनि केही दर्शनार्थी मन्दिर पुगे । उनीहरुलाई मन्दिरभित्र प्रवेश गरेर पुजा गर्न नदिईएको पुजारी चिरञ्जिवी लम्सालले बताउनुभयाे ।
‘आएका सबै बाहिरैबाट पुजा गरेर फर्किए । सरकारको निर्देशन अनुसार हामीले मन्दिर बन्द गरेका हौँ । त्यसैले वली दिन ल्याएका पशुपंक्षी पनि फिर्ता पठाईदियो ’, उहाँले भन्नुभयाे । नवरात्रको पनि विशेष महाअष्टमी र महानवमीको दिन ढोरबाराहीमा हजारौँ दर्शनार्थी आउने गर्छन् । पञ्चवली दिनलाई तनहुँसंगै छिमेकी जिल्ला स्याङजा, कास्की,लगायतका विभिन्न जिल्लाबाट आउने गरेका थिए । यो वर्ष कोरोना भाईरस संक्रमणको जोखिमले मन्दिर गत चैतदेखि दर्शनार्थीका लागि बन्द भएको लम्सालले जानकारी दिनुभयाे।
लकडाउन खुकुलो भएपनि मठमन्दिर भने खुलेका छैनन् । त्यसैको प्रभावले नवदुर्गाको अविधीमा सबैजसो मठमन्दिर बन्द भए । तनहुँको म्याग्दे गाउँपालिका–६ मा पृथ्वीराजमार्गसंगै जोडिएको अकलादेवी मन्दिर नवरात्र शुरु भएपछि बन्द भयो । पहाडको टुप्पोमा रहेको मन्दिरदेखी तल राजमार्गसम्म दर्शनार्थीको लाम हुने गरेको यसपाली त्यस्तो दृश्य देखिएन् । कारण हो, कोरोनाको संक्रमण फैलने जोखिमले मन्दिर बन्द हुनु । सरकारको निर्देशनलाई पालना गर्दै भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाएको अकला मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार मन्दिर बन्द भएपनि दर्शनार्थी छिटफुट आइरहे । वली दिन ल्याइएको मेडो बन्द मन्दिरको प्रवेशद्धा वाहिर आफैले काटेर दर्शनार्थीले लगेको उहाँले सुनाउनुभयो ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएपछि बडादशैंको सातौ दिन फुलपातीमा व्यास नगरपालिका –४ स्थित कालिका मन्दिरमा न्यून संख्यामा उपस्थित भएर फूलपाती भित्राईयो । विधीमात्रै पुरा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । व्यास नगरपालिका–१४ मा रहेको प्रसिद्ध छाब्दीबाराही मन्दिर पनि समुदायस्तरमा कोरोना संक्रमणदर बढ्दै गएपछि बन्द रहेको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पुजापाठका लागी खुला गरिएपनि शुक्लागण्डकी नगरपालिका–६ मा रहेको तिनखोले देवीको मन्दिरमा दर्शनार्थीको घुईचो लागेन् । ’अरुबेला भन्दा दशैँमा दर्शनार्थीको भिड लाग्ने गरेकोमा यसपाली स्थानियले मात्र पुजापाठ गरे’, मन्दिर विकास समितिका अध्यक्ष श्रीराम अधिकारीले भन्नुभयाे, ‘बजार क्षेत्रबाट खासै भक्तजनहरु आउनु भएन ।’ जिल्लाका प्रसिद्ध मठमन्दिरसंगै विभन्नि स्थानमा रहेका कालिक, कोतघरमा पनि पोहोर परारको जस्तो त्यति भिड देखिएन् । गाउँशहरमा दशैँको रौनक पनि उतिसारो छाएको छैन् । केही ठाउँमा अक्कल झुक्कल पिङ हाल्ने, भेला भएर पुजापाठ गर्ने कार्यले भने निरन्तरता पाएको छ ।