जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि भवन निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि भवन निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७७, बुधबार

    तनहुँ : स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएको छ । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको देवघाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण शुरु भएको हो । सङ्घ र प्रदेश सरकारबाट बजेट प्राप्त भएपछि गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम शुरु गरिएको अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार देवघाट गाउँपालिका–५ क्युदीमा प्रशासकीय भवन निर्माणको काम शुरु भएको छ । भाडाको घरमा सञ्चालन हुँदै आएकामा भवन निर्माणसम्पन्न भएपछि सहज हुने थापाले बताउनुभयो ।

    रु सात करोड ५० लाख ७६ हजार एक सय १७ को अनुमान गरिएपनि निर्माण कम्पनीसँग रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा सम्झौता भएको छ । भवन निर्माणको ठेक्का रविना÷अविसा जेभी काठमाडौले पाएको छ । निर्माण कम्पनीसँग गत असार १९ गते सम्झौता भएको थियो । विसं २०७९ असार १८ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने म्याद छ ।

    गाउँपालिकाले हाल दुई वडा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ । बिजुली, पानी सहित गाउँपालिकाले कार्यालय सञ्चालनका लागि मासिक रु ८० हजार भुक्तानी गर्दै आएको छ । “गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडामा कार्यालय सञ्चालन गर्दा समस्या भइरहेको छ, भवन निर्माण भएपछि सेवा प्रवाह गर्न पनि सहज हुन्छ,” उहाँले भन्नुभयो, “साथै खर्च पनि जोगिन्छ ।”

    भवन निर्माणका लागि सङ्घ सरकारले रु दुई करोड रु प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ भने गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको छ । अपुग रकम आगामी वर्ष पनि विनियोजन गरिने थापाले बताउनुभयो । पाँच हजार दुई सय वर्गफुटमा फैलिने भवन तीन तल्लाको हुनेछ ।