तिब्बती शरणार्थीको परिचयपत्र नविकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तिब्बती शरणार्थीको परिचयपत्र नविकरण

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७७, बिहीबार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नविकरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको सङ्ख्या ३ सय २० रहेको छ । तिब्बती शरणार्थी वर्षौदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् । कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ ।

    कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ९८ वटा हातहतयार नविकरण गरिएका छन् । साउनमा ८, भदौमा ६१ र असोजमा २९ हातहतियारको नविकरण भएको प्रशासनले जनाएको छ । त्यस्तै २ वटा हातहतियारको नामसारी गरिएको छ ।

    कार्यालयले साउनमा २ सय ६१, भदौमा ९१ र असोजमा ७ सय ११ गरी १ हजार ६३ वटा वंशजका आधारमा नागरिकता वितरण गरेको छ । साउनमा ९२, भदौमा २ सय ३३ र असोजमा ४ सय ५८ गरी ७ सय ८३ वटा नागरिकताको प्रतिलिपी वितरण गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा एक जनाले नागरिकता परित्याग गरेका छन् ।

    प्रशासनले तीन महिनाको अवधिमा ४ सय ९५ वटा राहदानी जिल्लाबाट सिफारिस, ८१ दु्रत सेवा सिफारिस र ३ सय ९६ वटा राहदानी वितरण गरेको छ । यसैगरी विपद् पीडितलाई रु १३ लाख २९ हजार राहत वितरण गरिएको छ ।

    यस अवधिमा १७ वटा मुद्दा दर्ता भएका छन् भने १३ मुद्दा फछ्र्यौट भएको छ । त्यस्तै ३ सय २१ वटा आदिवासी जनजाति प्रमाणित, २९ वटा दलित प्रमाणित, ३ सय ५८ वटा पेन्सन सिफारिस र ८ सय २० अन्य सिफारिस भएको छ । चार वटा संस्था दर्ता भएको कार्यालयमा एक हजार एक सय ८५ वटा संस्था नवीकरण भएको छ ।

    रु २८ लाख राजश्व सङ्कलन

    कार्यालयले यस अवधिमा रु २८ लाख २० हजार तीन सय ७० राजश्व सङ्कलन गरेको छ । संस्था दर्ताबाट रु दुई लाख ६४ हजार तीन सय १५, हातहतियार नविकरण र नामसारीबाट रु ४७ हजार चार सय २५, राहदानी दस्तुरबाट रु २३ लाख ७३ हजार, न्यायिक प्रशासनिक दण्ड जरीवानाबाट रु एक लाख २६ हजार नौ सय र अन्य प्रशासनिक सेवा शुल्कबाट रु आठ हजार ७ सय ३० राजश्व सङ्कलन भएको छ ।