मजदुरको आन्दोलन स्थगित, ६९ जनाको पिसीआर परीक्षण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    मजदुरको आन्दोलन स्थगित, ६९ जनाको पिसीआर परीक्षण हुने

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७७, आईतवार

    तनहुँ : पिसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । तनहुँ जलविद्युत आयोजना अन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पिसीआर परीक्षण हुने भएपछि शुक्रबारदेखि शुरु आन्दोलन शनिबार स्थगित भएको हो ।

    आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका थिए । आफूहरुको माग बमोजिम पिसीआर परीक्षण हुने भएपछि आन्दोलन स्थगित गरिएको मजदुर मोती श्रेष्ठले जानकारी दिनुभयो । “पोजिटिभ आएका मजदुरलाई आइसोलेशनमा नराखी काममा लगाएपछि विरोध गर्दै आन्दोलनमा उत्रिएका हौ,” श्रेष्ठले भन्नुभयो, “पिसीआर परीक्षण पश्चात् काम गर्ने गरी आन्दोलन स्थगित गरेका छौ ।”

    यस अगाडी मजदुर र निर्माण कम्पनीबीच दशैं बिदाबाट फर्किएपछि पिसीआर परीक्षण गर्ने सहमति भएको थियो । तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले ६९ मजदुरको आइतबार पिसीआर परीक्षण गरिने जानकारी दिनुभयो । “दशैं बिदा सकेर चार दिन अगाडी आएका मजदुरको पिसीआर परीक्षण गर्ने सहमति भएको छ,” उहाँले भन्नुभयो, “नतिजा आएपछि मजदुर पुनः काममा फर्किन्छन् ।”

    दशैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युतगृह निर्माणको काम सुचारु राखेका थिए । असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने माग सहित मजदुरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सुचारु भएको थियो ।