काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार बिहान आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताउनुभयाे ।
आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको बताउनुभयाे । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयाे।