भानुमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु भएको हो ।

    भानुका विभिन्न सामुदायिक वनमा शनिबार चार र आइतबार आठ क्यामरा जडान गरिएकाे बरालले जानकारी दिनुभयाे । बरालले जानकारी दिनुभयो । बरालका अनुसार भानु नगरपालिका–१, २, ३, ४, ५ र ६ का २२ वटा सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ ।

    चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नगरपालिकामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो । “चितुवा बढी र आहारा कम भएका कारण चितुवा मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ,” बरालले भन्नुभयो, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ ।”

    पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताउनुभयो ।

    “वनमै चितुवाको आहारा व्यवस्थापन गर्न सके चितुवा मानवबस्तीसम्म आउँदैन, चितुवाले खाने आहारा प्रजाति मानिसले नै शिकार गरेर मार्ने काम गरिरहेका छन्,” उहाँले भन्नुभयो, “मानिस मात्रै बाँचेर हुन्न, सबै जीवजन्तु बाँच्नुपर्छ, त्यसका लागि वातावरण बनाउने मानिसले हो ।” उहाँका अनुसार चितुवाको आहारा मान्छे होइन, तर आहारा नपाउँदा चितुवाले बाध्य भएर मानिसमाथि आक्रमण गर्ने गरेको छ । बढीमात्रामा पोथी चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको छ । “पोथी चितुवाले मानिसमाथि आक्रमण गर्दा माउसँग हुर्किएको चितुवाको बच्चाले पनि मान्छेलाई आक्रमण गर्न सिक्ने हुन सक्छ,” बरालले भन्नुभयो ।

    बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुहरुमा ६५ वटा क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ,” बरालले भन्नुभयो ।

    क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका दुई जना प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पु¥याएका छन् । बरालका अनुसार क्यामराको अगाडी आउने सबै चिजको तस्वीर क्यामरामा कैद हुनेछ । १५ दिनसम्म क्यामरा वनमा राखिनेछ । उक्त क्यामराले दुई मिनेटमा ७२ वटासम्म तस्वीर कैद गर्न सक्छ । “क्यामराको अगाडी केही चिज आउने बित्तिकै तस्वीर कैद भइहाल्छ,” बरालले भन्नुभयो, “यसले भानुका जङ्गलमा कति चितुवा छन् भन्ने गणना गर्न सहयोग पुग्छ ।” उक्त क्यामराले दश मिटरसम्म परको तस्वीर कैद गर्न सक्छ ।

    उहाँका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । बरालका अनुसार यस अवधिमा चितुवाको ताजा दिसा सङ्कलन गरी त्यसको डिएनएन टेष्ट गर्ने पनि तयारी गरिएको छ । “डिएनए टेष्टपछि उक्त चितुवाले घरपालुवा जनावर खाएको, जङ्गली जनावर खाएको र मान्छे के खाएको छ त्यसको जानकारी लिन सहज हुनेछ,” बरालले भन्नुभयो ।

    क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतङ्कबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताउनुभयो ।