तनहुँमा ‘चालकसँग एक मिनेट’ अभियान शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ‘चालकसँग एक मिनेट’ अभियान शुरु

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७७, सोमबार

    तनहुँ : सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई जिम्मेवार बनाउने उद्देश्य सहित तनहुँमा ‘चालकसँग एक मिनेट’ अभियान शुरु गरिएको छ । लकडाउन खुकुलो भएसँगै सडकमा सवारी साधनको चाप बढेकाले दुर्घटना न्यूनीकरणका लागि प्रहरीले यो अभियान शुरुवात गरेको हो ।

    राजमार्ग तथा शहरी क्षेत्रमा एक महिना उक्त अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । अभियान अन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोकेर नमस्कार गर्नेछन् ।

    त्यसपश्चात् कोभिड–१९ बाट बच्नका लागि सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न, सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइकल र स्कूटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाउन, मादक पदार्थ तथा नशाजन्य वस्तुहरु सेवन गरि सवारी साधन नचलाउन र तीव्र गतिमा सवारी साधन नचलाउन सचेतनामूलक सन्देश प्रवाह गर्ने रानाभाटले जानकारी दिनुभयो ।

    “एक मिनेटभित्र सचेतनामूलक सन्देश प्रवाह गरेर चालकलाई बिदा गरिनेछ,” उहाँले भन्नुभयो, “अभियानको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण गर्नु हो ।”