तनहुँ : पूर्वमन्त्री भीमप्रसाद गौतमको निधनप्रति नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । बिहीबार शोक वक्तव्य प्रकाशित गर्दै वरिष्ठ नेता पौडेलले गौतमको निधनले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको हो ।
संविधानसभा सदस्य समेत रहनुभएका गौतम फरक विचार र पार्टीका भएर पनि आफ्नो हितैसी, शुभचिन्तक रहनुभएको पौडेलले बताउनुभएको छ । “संविधान निर्माणका क्रममा उहाँले निकै उपयोगी सल्लाह र सुझाव प्रस्तुत गर्नुभएको थियो । स्व. गौतम एक विकासवादी नेता पनि हुनुहुन्थ्यो । उहाँको निधनले देशले एक असल नेता गुमाएको छ,” पौडेलले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र तनहुँका जनतामा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
गौतमको आज तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित निवासमा निधन भएको हो । विगत केही समयदेखि विरामी पर्नुभएका गौतम चितवनस्थित अस्पतालबाट उपचार पश्चात् घर फर्किनुभएको थियो । उहाँ जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार अध्यक्ष समेत हुनुहुन्थ्यो ।