बन्दीपुरमा पर्यटकको चहलपहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा पर्यटकको चहलपहल

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७७, सोमबार

    तनहुँ : कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।

    बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष एवं होटल दरवार हिमालयका सञ्चालक वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिनुभयो । “कोभिडका कारण लामो समय पर्यटन क्षेत्र अस्तव्यस्त बन्यो, परिस्थिति सहज हुँदै जान थालेपछि बन्दीपुरमा आन्तरिक पर्यटक आउन थालेका छन्,” उहाँले भन्नुभयो ।

    चिसो मौसम बन्दीपुरमा पर्यटकको भीड हुने समय हो । तर कोभिडका कारण विगत वर्ष जस्तो चहलपहल भने बन्दीपुरमा छैन । “अहिलेको बेला भनेको बन्दीपुरमा अत्याधिक विदेशी तथा स्वदेशी पर्यटकको भीड हुने समय हो, विगतका वर्षहरुमा यतिबेला बन्दीपुरमा थामिनसक्नु भीड हुन्थ्यो,” उहाँले भन्नुभयो, “तर अहिले कोभिडले परिस्थिति बदलिएको छ ।”

    राति बास बस्ने पर्यटकको सङ्ख्या कम रहेपनि दिउँसोमा घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रहेको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल दैनिक एक हजार पर्यटक बन्दीपुर भित्रिएका छन् । “शुक्रबार र शनिबार त्यो सङ्ख्या चार पाँच हजारसम्म पुग्छ,” उहाँले भन्नुभयो ।

    पछिल्लो समय निकै चर्चामा रहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण पनि बन्दीपुरमा पर्यटक बढेका छन् । बन्दीपुर आउने अधिकांश पर्यटक मानहुँकोट जाने र मानहुँकोट आएका पर्यटक बन्दीपुर आउने गरेको गुरुङले जानकारी दिनुभयो । “बन्दीपुरमा बास बसेका पर्यटक बिहानै उठेर मानहुँकोट जाने गरेका छन्,” गुरुङले भन्नुभयो, “दशैं बिदाको क्रममा जति पनि पर्यटक बन्दीपुर आए सबै मानहुँकोट पुगेका थिए ।”

    आन्तरिक पर्यटक आकर्षित गर्न यहाँका व्यवसायीले छुट प्याकेज समेत सार्वजनिक गरेका छन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोना कहरले थला परेको बन्दीपुरको पर्यटनलाई गतिशिल बनाउन पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “त्यसका लागि सबै होटल व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन् ।”

    प्रधानका अनुसार सङ्मा आबद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् । “सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन् । पर्यटकलाई सुक्षित स्वागत र विदाईको अभियान चलाएका छौं,” उहाँले भन्नुभयो, “छुटको प्याकेजले आन्तरिक पर्यटक आकर्षित हुनेमा विश्वस्त छौ ।” बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बन्दीपुर सुरक्षित छ भन्ने सन्देश सहित व्यवसायी पर्यटक स्वागतमा जुटेको जानकारी दिनुभयो । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ ।

    बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।