तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा बुधबार बिहान भएको सवारी दुर्घटनाप्रति व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दुःख व्यक्त गर्नुभएको छ । आज शोकवक्तव्य प्रकाशित गर्दै नगरप्रमुख न्यौपानेले दुर्घटनामा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गदैै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
मानुङ आउने सम्पूर्ण पर्यटकलाई सडक निर्माणाधीन अवस्थामा रहेको हुँदा आ–आफ्नो तर्फबाट सावधानी अपनाउन नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभएको छ । शोकवक्तव्यमा भनिएको छ, “मानुङकोट पुग्नै लाग्दा उकालोमा असावधानीका कारणले भएको दुर्घटनाले अत्यन्त दुःख लागेको छ ।”
यसैगरी व्यास नगरपालिका-५ का वडाध्यक्ष माेहनकुमार श्रेष्ठले पनि उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे छ ।
पोखराबाट मानुङकाेट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस माइक्रो मानुङकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको थियो ।