छिम्केश्वरी मन्दिर पुग्न पैदलमार्ग र रेलिङ निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरी मन्दिर पुग्न पैदलमार्ग र रेलिङ निर्माण

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ ।

    आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४ सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भएको छ ।

    पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् रु ६० लाख ८५ हजार नौ सय ५६ लगानी भएको छ भने स्थानीयवासीले रु १५ लाख ७४ हजार ८ सय ९० बराबरको जनश्रमदान गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सिढी निर्माण भएसँगै छिम्केश्वरी माई मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिनुभयो । “उकालो बाटोमा सर्वसाधारणलाई हिँड्नका लागि सजिलोको लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ,” उहाँले भन्नुभयो, “पैदलमार्गले बालबच्चा र वृद्धवृद्धालाई समेत हिँड्नका लागि सजिलो भएको छ ।”

    सवारी साधनको अन्तिम बिन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडी बाटो विस्तार नहुँदा करीब दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।

    आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

    गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।