तनहुँ : तनहुँको भानु नगरपालिकाको केन्द्र विवादमा सर्वोच्च अदालतले दोस्रो अन्तरिम आदेश जारी गरेको छ । भानु नगरपालिकाको केन्द्र फुस्रेटारबाट भन्सार सारिएपछि भानु नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर खड्काले जारी गर्नुभएको रिटमा दोस्रो अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले अर्को निर्णय नभएसम्म कार्यालय फुस्रेटारमा कायम गर्न आदेश दिएको हो ।
सर्वोच्चको अन्तरिम आदेश पछि नगरपालिकाको कार्यालय पुनः फुस्रेटारमा सञ्चालन हुनेमा खड्काले विश्वास व्यक्त गर्नुभयो । “फुस्रेटारबाट कार्यालय भन्सारमा सञ्चालन गरिएको छ, सर्वोच्चको आदेश पछि अब कार्यालय पुनः फुस्रेटारमा नै सञ्चालन हुनुपर्छ,” खड्काले भन्नुभयो ।
नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । वडा नम्बर २ फुस्रेटारमा नगरपालिकाको कार्यालय रहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीहरुलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने स्थानीयको भनाई छ ।
अहिले कायम रहेको वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय गत असोज १ गतेबाट वडा नमबर १ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट तीन वर्षको लागि भाडामा लिएर काम कारवाही शुरु भएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।