


काठमाडौं, ११ असोज । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक खुलाउने कार्यलाई निरन्तरता दिएको छ।
नेपाली सेनाका अनुसार पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेपछि नयाँ रणभीम गुल्मको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै सरसामान सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिम बढेपछि नं. २ वन तथा पर्यावरण सुरक्षा गणको टोली स्थानीयलाई सुरक्षित स्थानमा सार्न परिचालित भएको छ। यस्तै, सुस्ता गाउँपालिका–५ सुस्ता क्षेत्रमा पनि गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट फौज खटिई स्थानान्तरण कार्य जारी राखेको छ।
पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरिएको सूचनापछि द फेमस महिन्द्र दल गणको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार गरिरहेको छ।
भरतपुर महानगरपालिका–१ देवघाट र वडा नं. ३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको टोली स्थानीयलाई सुरक्षित स्थानमा सार्न परिचालित भएको छ। धनुषाको मिथिला नगरपालिका–११ आपगाछी, चुरेमा पहिरोले घर पुरिएको सूचनापछि नेपाली सेनाको टोली खोज तथा उद्धारका लागि खटिएको छ।
तनहुँमा पृथ्वी राजमार्ग सुचारु
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो तथा लेदोका कारण अवरुद्ध सडक नेपाली सेनाको काली भञ्जन गण (ई) बाट खटिएको टोलीले स्थानीय निकायसँगको समन्वयमा अवरोध हटाएर पूर्ण रूपमा सुचारु गराएको छ।
नेपाली सेनाले बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खोज, उद्धार, स्थानान्तरण तथा सडक खुलाउने कार्य जारी राखेको जनाएको छ।