बन्ने भो कास्की र तनहुँ जोड्ने मसिना खोलामा पुल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्ने भो कास्की र तनहुँ जोड्ने मसिना खोलामा पुल

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    तनहुँ : मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल चाहियो भन्दै बनाईदिन स्थानीयवासीले पञ्चायतदेखि नै माग गर्दै आएका थिए । तर, कहिल्यै पूरा भएन ।

    पञ्चायतपछि पनि विभिन्न शासन व्यवस्था फेरिएर अहिले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छ । तीन तहको सरकार छ । पञ्चायतमा मसिना खोलामा झोलुङ्गे पुल बनाइदिन गरेको माग बल्ल आएर प्रदेश सरकारले पूरा गरिदिन तत्परता देखाएको छ ।

    गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत बन्ने मसिना खोला झोलुङ्गे पुलको बुधबार गण्डकी प्रदेशसभा सदस्य आशा काेइरालाले शिलान्यास गर्नुभयाे । उहाँले सरकारले पूर्वाधार विकासलाई जोड दिइरहेको बताउनुभयाे। “आवश्यकता अनुसार पूर्वाधार विकासमा सरकार लागिपरेको छ । पूर्वाधार खडा हुँदैमा मात्र समृद्धि हासिल हुँदैन, जनताले उर्वर भूमिलाई प्रयोग गरेर कृषि उत्पादनलाई जोड दिन आवश्यक छ,” उहाँले भन्नुभयाे ।

    एउटै निर्माण व्यवसायीलाई धेरैतिरको विकास निर्माणको जिम्मा लगाउने प्रवृत्तिले काममा ढिलासुस्ती हुने उहाँले बताउनुभयाे । धेरैतिर ठेक्का लिएका निर्माण व्यवसायीले समयमै काम गरेकी गरेनन् भनेर राज्यले नियमन गर्नुपर्ने उहाँको धारणा छ । पूर्वमन्त्री समेत रहनुभएकी काेइरालाले समयमै काम सक्न निर्माण कम्पनीसँगै स्थानीय उपभोक्ताले सक्रियता देखाउनुपर्ने सुझाव दिनुभयाे ।

    शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष जगतबहादुर गुरुङले पञ्चायतकालदेखि पुल माग गर्दै आएकोमा बल्ल आएर पूरा हुन लागेको बताउनुभयाे । “यहाँ पुल बनाउन पञ्चायतमा पनि हामीले माग गरेका थियौँ । यत्रो लामो सयमपछि अहिले पूरा हुँदैछ”, उहाँले भन्नुभयाे, “काममा बहानाबाजी नहोस् । सम्झौता भएको अवधिभित्रै गुणस्तरीय काम भएको हेर्न चाहान्छौँ ।”

    उक्त झोलुङ्गे पुल आगामी असार मसान्त सम्ममा सम्पन्न गर्ने गरी परिस्कार निर्माण सेवा नुवाकोटले ठेक्का पाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयाे । १३ लाख १३ हजार ८ रुपैयाँ (भ्याट बाहेकमा) ठेक्का सम्झाैता भएकाे छ ।

    पुल बनेपछि एक्लेखेत र मझुवा आउजाउमा निकै सहज हुने स्थानीयको विश्वास छ । एक्लेखेतस्थित हंशवाहिनी मावीमा पढ्ने मझुवाका विद्यार्थीलाई राहत मिल्नेछ ।