एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले घरेलु मैदानमा अलाभेससँग हार बेहोरेको छ । डिफेन्समा कमजोर प्रदर्शन गरेको रियल २-१ ले पराजित भएको हो ।
खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को अग्रता दिलाए ।
दोस्रो हाफको ४९ औं मिनेटमा अलाभेसले अग्रता दोब्बर पार्यो । गोलरक्षक थिबाउट कोर्टुवाले क्लियर गरेको बल सिधै जोसेलुको खुट्टामा पुगेपछि उनले पेनाल्टी क्षेत्र बाहिरबाट सिधै गोल गरेका थिए । त्यसअघि पेरेजले वन भर्सेस वनको स्थितिमा गरको प्रहारलाई सुन्दर बचाउ गर्दै कोर्टुवाले अग्रता बढाउन दिएका थिएनन् ।
निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रियलले गोल फर्काएर पुनरागमन गर्ने संकेत देखायो । क्यासेमिरोले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै गोल अन्तर कम गरेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा इस्कोको प्रहार क्रसबारमा लागेर बाहिरीएपछि रियलको आशा समाप्त भएको थियो ।
खेलका दौरान रेफ्रीले इडेन हाजार्ड र मार्सेलोविरुद्ध भएको फललाई पेनाल्टी नदिएको भन्दै रियलका खेलाडीले असन्तुष्टि समेत जनाएका थिए । पहिलो हाफमा नै विंगर हाजार्ड चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा २८ औं मिनेटमा रोड्रीगो मैदान प्रवेश गरेका थिए ।
यस हारले रियल म्याड्रिड अंक तालिकाको चौथो स्थानमा सिमित रहेको छ । रियलको १० खेलमा ५ जित, २ बरर र ३ हारसहित १७ अंक छ । अलाभेस भने ११ खेलमा १३ अंकसहित नवौं स्थानमा छ । शीर्ष दुई स्थानमा रहेका रियल सोसीडाड र एटलेटिको म्याड्रिडको २३-२३ अंक छ । एटलेटिकोले ९ तथा सोसीडाडले १० खेल खेलेको छ ।