तनहुँ : जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएका एक प्रतिवादी ४८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक ढोरफिर्दी गाविस–१ का बुधे दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निजलाई आइतबार पक्राउ परी अदालत समक्ष पेश गरिएकामा अदालतको आदेश बमोजिम थुनामा पठाइएको प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । निजलाई विसं २०२९ पुस २३ गते तनहुँ जिल्ला अदालतले ६ वर्ष कैद सजाय तोकेको थियो ।
प्रहरीले आइतबार नै सवारी ज्यान मुद्दामा दुई, चोरी मुद्दामा चार, लिखत बेइज्ती मुद्दामा एक, जालसाझी मुद्दामा दुई जनालाई पनि पक्राउ गरेको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेका प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले अभियान नै सञ्चालन गरिरहेको छ ।