एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा बर्सिलोनाले फराकिलो जित निकालेको छ। बार्सिलोनाले ओसासुनाविरुद्ध घरेलु मैदानमा ४–० गोलको फराकिलो जित निकालेको हो।
फराकिलो जितका लागि अन्तिम गोल गरेका फरवार्ड लियोनेल मेस्सीले डियागो म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन्। उनले आफ्नो जर्सी खोलेर म्याराडोना योङ बोइजमा हुँदाको जर्सी देखाउँदै श्रद्धाञ्जली दिए।
पूर्व बार्सिलोना एवम् अर्जेन्टिनी मिलफिल्डर म्याराडोनको गत बुधबार निधन भएको थियो।
७३ औं मिनेटमा मेस्सीले फ्रान्सिस्को ट्रिनाकोको पासमा गोल गरेका थिए। गोल गरेसँगै उनले आफ्नो जर्सी खोले र म्याराडोनाको जर्सी देखाए।
त्यसअघि बार्सिलानाका लागि मार्टिन ब्रेथवेट, एन्टोनी ग्रिजम्यान र फिलिप काउटिन्होले समान १–१ गोल गरेका थिए।
यससँगै बार्सिलोना १४ अंक बनाउँदै अंकतालिाकाको सातौ स्थानमा उक्लिएको छ। पराजित ओसासुना भने १५ औं स्थानमा छ।
ला लिगाकै आइतबार राति सम्पन्न अर्को खेलमा शीर्षस्थानको रियल सोसिडाडले भिल्लारियलसँग १–१ गोलको बराबरी खेलेको छ। दुवै टिमले गरेको एक गोल पनि पेनाल्टीमा पाएको अवसरमा भएको थियो।
सोडिडाडको मैदानमा सम्पन्न खेलमा बराबरीका साथ दुवै टिमले अंक बाँडेका हुन्। यससँगै सोसिडाडको २४ अंक छ भने भिल्लाको २० अंकका साथ तेस्रो स्थानमा छ।
दुई खेल कम खेलेको एट्लेटिको मड्रिड भने २३ अंकका साथ दोस्रो स्थानमा छ।
त्यस्तै चौथो स्थानको रियल मड्रिडको १७ अंक छ।