तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको गतिविधिका कारण प्रतिगमन तत्वले टाउको उठाउन खोजेको आरोप लगाउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ जोड्ने सुढेस्थित सेती नदीमाथि निर्माण सम्पन्न भएको पक्की पुलको मङ्गलबार उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारकै गतिविधिका कारण प्रतिगामीले नारा लगाउने अवसर सिर्जना भएको टिप्पणी गर्नुभयो ।
“सरकार त बन्यो तर सरकारले काम गर्ने मेसो पाएन, जनतामा निराशा छाएको छ,” पौडेलले भन्नुभयो, “प्रतिगमन तत्वले नारा लगाउने अवसर पाएका छन् । राजा आउ देश बचाउ भन्ने नारा लगाउने स्थिति सरकारले सिर्जना गरेको छ ।” वरिष्ठ नेता पौडेलले फेरि अन्धकारमा लैजाने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न आवश्यक रहेकामा जोड दिनुभयो । “सरकारले राष्ट्रवादको नारा लगाउँछ तर राष्ट्रवाद कसरी बलियो हुन्छ त्यसतर्फ ध्यान दिएको छैन, सरकारसँग विकासको कुनै योजना नै छैन,” पौडेलले भन्नुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश सांसद डोवाटे विक, सरिता गुरुङ लगायतले पक्की पुल निर्माणसँगै यहाँका वासिन्दालाई कृषि उपज सामग्री बजारसम्म ल्याएर विक्री गर्न सहज हुने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुल निर्माणले यस भेगको समृद्धिको ढोका खुलेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माण पश्चात् दुवै पालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताउनुभयो ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाइपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका वासिन्दालाई ठूलो राहत पुगेको बताउनुभयो ।
विसं २०७१ असार २९ गते सम्झौता भई निर्माण सम्पन्न भएको उक्त पुल विसं २०७७ वैशाख ३० गते सम्पन्न भएको हो । रु दश करोड ७१ लाख दुई सय ७८ लागत रहेको उक्त पुलको लम्बाई एक सय पाँच मिटर रहेको छ ।
पुल उद्घाटनको विषयमा विवाद
सडक डिभिजन कार्यालय मार्फत् पुल निर्माण भएपनि उद्घाटन कार्यक्रम भने व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाले गरेको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकालाई पत्र लेखेर कार्यक्रम नगर्न आग्रह गरेपनि व्यास नगरपालिकाले सम्पूर्ण तयारी पूरा भएको भन्दै कार्यक्रम गर्ने बताएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मङ्गलबार नै नगरपालिकालाई पत्र लेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उद्घाटनको कार्यक्रम समेत रहेकाले हाललाई नगरपालिकाबाट तय भएको कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको थियो ।