पार्टीलाई सङ्कटबाट बचाउन समयमै महाधिवेशन : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पार्टीलाई सङ्कटबाट बचाउन समयमै महाधिवेशन : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७७, बुधबार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीलाई सङ्कटबाट बचाउन समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले फागुन ७ गते नै पार्टीको १४ औं महाधिवेशन गर्न सकिने भएकाले त्यसको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

    क्रियाशील सदस्यको नाम पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिने निर्वाचन समितिले बताएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित समयमै महाधिवेशन गर्न सकिनेमा जोड दिनुभयो । “पार्टीको विधानको रक्षा हामीले गर्नुपर्छ, पार्टीलाई सङ्कटतर्फ जान दिनहुन्न,” पौडेलले भन्नुभयो । मङ्सिरभित्रै क्रियाशील सदस्यताको टुङ्ग्याउनेतर्फ सबै जिल्ला समितिले ध्यान दिनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो ।

    राजावादीको नाममा भइरहेको प्रदर्शनलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले नेपाल पुनः प्रतिगमनको बाटोतर्फ फर्कन नसक्ने टिप्पणी गर्नुभयो । “नेपाल पुनः अन्धकारको बाटोमा जान सक्दैन, ठूलो सङ्घर्ष र बलिदानबाट आएको परिवर्तन खेर जान दिँदैनौ,” उहाँले भन्नुभयो, “त्यसका लागि काङ्ग्रेस जस्तोसुकै आन्दोलनका लागि तयार छ ।” मुलुकलाई प्रतिगामी बाटोतर्फ जान नदिने उद्घोष गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय स्वाभिमान रक्षाका लागि काङ्ग्रेस तयार रहेको बताउनुभयो । “राजतन्त्र र निरङ्कुशका दिन फर्किनेवाला छैन,” पौडेलले भन्नुभयो ।

    काङ्ग्रेसको नेतृत्वमा विकास निर्माणका काम शुरु भएपनि अहिले विकास निर्माण अवरुद्ध भएको पौडेलको आरोप थियो । वर्तमान सरकारले देशलाई समृद्धिको बाटोतर्फ अगाडी बढाउन नसकेको पौडेलको भनाई थियो । वरिष्ठ नेता पौडेलले सरकार विकासतर्फ भन्दा पनि पार्टीकै झगडामा रुमलिरहेको भन्दै पार्टीको झगडाले देशलाई बन्धक बनाउन नपाइने बताउनुभयो ।