बुल्दी पुल उद्घाटन प्रकरण : युवा सङ्घको विरोध, प्रशासनको निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दी पुल उद्घाटन प्रकरण : युवा सङ्घको विरोध, प्रशासनको निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोलामाथि निर्माण सम्पन्न भएको पुलको उद्घाटन तयारी भएपछि राष्ट्रिय युवा सङ्घ तनहुँले आज विरोध प्रदर्शन गरेको छ । प्राविधिक कार्यालय मार्फत् निर्माण सम्पन्न भएको पुल सरोकारवालालाई जानकारी नै नदिई व्यास नगरपालिकाले उद्घाटन गर्न खोजेको भन्दै युवा सङ्घले उक्त पुलमा विरोध सभा गरेको हो ।

    युवा सङ्घ तनहुँका अध्यक्ष इश्वर बस्यालले कुनै सरोकार नै नभएको व्यास नगरपालिकाले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत् पुल उद्घाटन गराउन खोजेको भन्दै विरोध गरिएको जानकारी दिनुभयो । “नगरपालिकाले एकलौटी ढङ्गबाट पुल उद्घाटन गर्न खोजेकामा हाम्रो विरोध हो,” बस्यालले भन्नुभयो ।

    प्रशासनद्वारा निषेधाज्ञा जारी

    यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपासको क्षेत्रमा आज १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । व्यास नगरपालिकाले उक्त पुलको आज उद्घाटन तयारी गरेपछि प्राविधिक कार्यालय तनहुँले कार्यक्रम नगर्न पत्राचार गरेको र युवा सङ्घको पनि विरोध भएपछि प्रशासनले उक्त ठाउँको पश्चिम गल्वुवेशी, बुल्दीखोला पुल, उत्तर रानीगाउँ, पूर्व घाँसीकुवा, मुसीखोला र दक्षिण अम्रेनी चार किल्ला भित्र सभा, सम्मेलन, जुलुस, प्रदर्शन र पाँच जना भन्दा व्यक्ति व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले उल्लेखित आदेशको अवज्ञा भएमा स्थानीय प्रशासन ऐन, २०२० को दफा ६ को उपदफा ३ (क) बमोजिम सजाय गरिने जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, जुलुस, प्रदर्शन नगर्न अनुरोध गरिरहेको अवस्थामा नेपाली काङ्ग्रेस समेतको सहभागितामा पुल उद्घाटन गर्न लागेकामा पूर्वाधार विकास कार्यालय तनहुँको च.नं १६७ मिति २०७७।८।१६ को पत्रबाट उद्घाटन कार्यक्रम स्थगन गर्न अनुरोध भएको छ,” निषेधाज्ञामा भनिएको छ, “सो विषयलाई लिएर युवा सङ्घ लगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको पर्चा, पम्प्लेट र उनीहरुको गतिविधिको सुक्ष्म अनुगमनबाट समेत जानकारी भएको र झडपको पर्याप्त सम्भावना रहेको देखियो ।”