तनहुँ : निषेधाज्ञा तोडेको आरोपमा बुधबार दिउँसो पक्राउ पर्नुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि रिहा हुनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेको आरोपमा दिउँसो २ बजे पक्राउ पर्नुभएका वरिष्ठ नेता पौडेल साढे पाँच बजे रिहा हुनुभएको हो ।
प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जितप्रकाश आले सहित १२ जनालाई पक्राउ गरेको थियो । रिहा भएपछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा पक्राउ गरिएकामा आपत्ति जनाउनुभयो । “तनहुँमा भएको घटनाले देशभर निन्दा भइरहेको छ,” उहाँले भन्नुभयो, “उक्त घटनाको जति विरोध गरेपनि कम हुन्छ ।” प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएकामा पौडेलले विरोध गर्नुभयो । पाैडेलले तनहुँकाे घटनाले लाेकतन्त्र लज्जित भएकाे उल्लेख गर्नुभयाे ।
बिहान ११ बजे बैठक, त्यसलगत्तै थप कार्यक्रम सार्वजनिक
नेपाली काङ्ग्रेसले बुधबार भएको घटनाको विरोध गर्दै बिहीबार बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ । काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले घटनाको निन्दा गर्दै अब आन्दोलन शुरु भएको घोषणा गर्नुभयो ।
आज दिउँसो प्रहरीसँग भएको झडपमा संविधानसभा सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, महिला सङ्घका सभापति पवित्रा पौडेल, महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय मार्फत् सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो । उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोध सभा आयोजना गरेको थियो ।
दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन कार्यालयले दिउँसो १२ बजेदेखि ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । वरिष्ठ नेता पौडेल काङ्ग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।