तनहुँ : पुल उद्घाटनको विषयमा राजनीति हाबी हुँदा बुधबार दिनभर तनहुँको सदरमुकाम दमौली तनावग्रस्त बन्यो । जिल्ला प्रशासन कार्यालय तनहुँले पुल वरपरको क्षेत्रमा दिउँसो १२ बजेदेखि ६ बजेसम्म निषेधाज्ञा नै जारी ग¥यो । निषेधाज्ञाकै बीचमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पुल उद्घाटन गर्न अगाडी बढेपछि प्रहरीले पौडेल लगायत कार्यकर्तालाई रोक्यो अनि प्रहरीले पौडेललाई साढे तीन घण्टा नियन्त्रणमा राख्यो पनि ।
रिहाई भएपछि नेता पौडेलले प्रशासनले नाङ्गो नाच प्रदर्शन गरेको अभिव्यक्ति दिनुभयो । व्यास नगरपालिका–१ र १० लाई जोड्ने बुल्दी खोलामाथि बनेको पक्की पुलमा राजनीति हावी हुँदा बुधबारको घटना घट्न पुगेको हो ।
पूर्वाधार विकास कार्यालयमार्फत् बनेको पुल उद्घाटन उपभोक्ता समिति मार्फत् हुन लागेपछि कार्यालयले पुल उद्घाटनको कार्यक्रम स्थगन गराउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो र सोही बमोजिम प्रशासन कार्यालयले पनि पुल उद्घाटन नगर्न पत्राचार गरेको जनाएको छ । यसअगाडी बुधबार दिउँसो पुल उद्घाटनको तयारी भएपछि राष्ट्रिय युवा सङ्घ तनहुँले पनि विरोध प्रदर्शन गरेको थियो ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार गृहजिल्ला तनहुँ आउनुभएको थियो । पौडेलले मङ्गलबार बिहान व्यास नगरपालिका–५ को मानुङकोट डाँडोमा उक्लिएर दृश्यपान गर्नुभयो । दिउँसो व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ जोड्नेगरि सोंढेमा सेती नदीमाथि बनेको पक्की मोटरेवल पुल उद्घाटन गर्नुभयो ।
उक्त पुल भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको सडक डिभिजन कार्यालय तनहुँ मार्फत बनाईएको हो । तर, व्यास र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा उद्घाटन गरियो । त्यसपछि शुरु भयो राजनीतिक विवाद । उक्त पुल नेकपा समर्थकले त्यसै क्षेत्रबाट रामचन्द्रलाई हराएर निर्वाचित हुनुभएका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ किसानबाट उद्घाटन गराउन चाहन्थे । पुल निर्माण गर्ने सम्बन्धित कार्यालयले उद्घाटन नगर्न भनेपनि उपभोक्ता समितिले नेता पौडेलको बाहुलीबाट पुल उद्घाटन गर्न लागेपछि बुधबार दिनभर तनहुँ सदरमुकाम दमौली तनावग्रस्त बन्यो ।
तत्कालीन जिल्ला विकास समिति एसएनआरटिपी परियोजनाअन्र्तगत निर्मित पुल २०७३ वैशाखबाट निर्माण शुरु भएर २०७५ कार्तिकमा सम्पन्न भएको हो । पुल बनेपनि पक्की बाटो लगायतका संरचना नबन्दा उद्घाटनमा ढिलाई भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिनुभयो । उक्त पुलको बिहीबार उद्घाटन गर्ने तयारी भएको बताइएको छ ।