तनहुँ : ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ का जनता कज–वेमार्फत बुल्दीखोला तर्थे । नगरपालिकाले बनाएको कज–वे बल्दीखोलामा आएको बाढीले बगाइदियो । त्यहाँका नागरिकलाई आउजाउ गर्नै समस्या पर्यो ।
तालघरे दुम्सीचौर सडकको अन्तर्गत बुल्दीखोलामा पुल हाल्न स्थानीय जनताले सरकारको ध्यानाकर्षण गराए । तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत बुल्दीखोलामा पुल बन्ने पक्का भयो । त्यो बेला प्रकाशमान सिंह स्थानीय विकास मन्त्री थिए । २०७३ वैशाखमा पुल निर्माणको काम सुरु भयो ।
दुई करोड ५४ लाख रुपैयाँ लागतमा २०७५ कात्तिकमा पुल बनेपछि स्थानीयलाई आउ–जाउ गर्न सहज भयो । तर पुल बनेको दुई वर्षपछि एकाएक राजनीतिक विवादको विषय बन्यो ।
र्याली, प्रदर्शन गर्दै दमौली बजारमा टायर बल्यो । अश्रुग्यास नै प्रहार भयो । ब्यास नगरपालिकामा निषेधाज्ञा जारी भयो । र, बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत पक्राउ पर्नुभयो ।
यसरी भयो विवादको सुरुवात
कांग्रेस वरिष्ठ नेता पौडेलले अघिल्लो दिन मंगलबार नै सेती नदी पुल सुँडेको उद्घाटन गर्नुभएको थियो । १० करोड लागतमा वैशाखमा निर्माण सम्पन्न भएको पुल पौडेलले उद्घाटन गरेसँगै विवाद सुरु भएको थियो ।
पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण भएको सुँडेको पुलको मर्मतसम्भार चलिरहेको र मन्त्रालयको उद्घाटन गर्ने कार्यक्रम पनि बनाएको भन्दै जिल्ला प्रशासन कार्यालयले तत्काल कार्यक्रम नगर्न व्यास नगरपालिकालाई पत्र काटेको थियो ।
संघीय पूर्वाधार मन्त्रालय अन्तर्गत सडक विभागले पुल उद्घाटनको कार्यक्रम रोक्न जिल्ला प्रशासनलाई पत्र पठाएपछि ब्यास नगरपालिकालाई कार्यक्रम रोक्न पत्र काटेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
स्रोतका अनुसार संघीय सरकारको समन्वयबिना पुल उद्घाटन कार्यक्रम राखिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जसरी पनि कार्यक्रम रोक्न सिडिओलाई भनेका थिए ।
तर ब्यास नगरपालिकाले नेता पौडेलको प्रमुख आतिथ्यतामा पुल उद्घाटन गर्यो ।
बुधबार उपभोक्ता समितिले पौडेलबाट बुल्दी खोला पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएपछि जिप्रकाले बुधबार बिहान अर्को पत्र काटेको थियो ।
उपभोक्ता समितिले भने सर्वसम्मत रुपमा पौडेललाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो । उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर पहिले नै कार्यक्रम तय गरेको उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर अधिकारीले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय र संघीय मन्त्रालयसँग समन्वय नगरी व्यास नगरपालिका र उपभोक्ता समितिले कार्यक्रम तय गरेको भन्दै नेकपा निकट युवा संघ सडकमै उत्रियो ।
दुबै पक्षबीच झडपकै अवस्था सिर्जना भएपछि प्रशासनले निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञाको विरोध गर्दै पौडेलकै नेतृत्वमा जुलस सहित पुल उद्घाटन कार्यक्रम हुन खोजेपछि प्रहरीले पौडेलसहित केहीलाई पक्राउ परी ३ घन्टापछि छाडेको छ ।
‘अघिल्लो दिन सडक विभाग र बुधबार पूर्वाधार कार्यालयको अनुरोधमा पुल उद्घाटनको कार्यक्रम रोक्न पत्र काटेका थियौं । अघिल्लो दिन अटेर गरी कार्यक्रम भयो । बुधबार तनावपूर्ण अवस्था सिर्जना भयो,’ सिडिओ आचार्यले भन्नुभयो, ‘झडपकै अवस्था सिर्जना भएपछि निषेधाज्ञा नै जारी गर्नुपर्यो । निषेधाज्ञा तोड्दा नेता पौडेलसहितलाई नियन्त्रणमै लिनुपर्ने अवस्था आयो ।’
दुई नेताको टकराव
संघीय सरकार र अन्तर्गतको निकायसँग समन्वय नगरी पुल उद्घाटनको कार्यक्रम राखिएको भनिएपनि मुख्य विवाद तनहुँ क्षेत्र नम्बर १ का दुई नेताको टकराब हो । कांग्रेसको पकड मानिएको यो क्षेत्रमा २०७४ को प्रतिनिधिसभा चुनावमा पौडेललाई नेकपाका कृष्णकुमार श्रेष्ठले हराउणुभएको हो । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने पनि पौडेल समूहकै छन् । त्यसैले विकास निर्माणको उद्घाटन गरी पौडेल फेरि जनतासँग जोडिन चाहनुहुन्छ ।
कांग्रेसले पौडेलबाट पुलको उद्घाटन गर्न चाहन्थ्यो भने नेकपाले संघीय सांसद श्रेष्ठबाट । सोही क्षेत्रमा बनेको पुल उद्घाटन गर्न पौडेल पुगेपछि नेकपा सांसद श्रेष्ठले आपत्ति जनाउनुभयो । सांसद श्रेष्ठले जसरी पनि पुल उद्घाटनको कार्यक्रम रोक्न चाहन्थे । तर कांग्रेसकै नेतृत्व रहेको व्यास नगरपालिकाले पुल उद्घाटनको कार्यक्रम राखेपछि श्रेष्ठकै निर्देशनमा युवा संघ विरोधमा उत्रियो ।
कानुन र विधि मिचेर पौडेलले पुल उद्घाटन गर्न लागेकाले कार्यक्रम रोकिनुपर्छ भनेको सांसद श्रेष्ठले बताउनुभयो । ‘संघीय र प्रदेश सरकारले पुल निर्माण गरेको छ । कांग्रेसले बिना समन्वय पुल उद्घाटन गर्न मिल्छ ?’ सांसद श्रेष्ठले भने, ‘पूर्वाधारमन्त्री वसन्त नम्वाङसँग भनेर पौडेललाई नै प्रमुख अतिथि बनाएर म विशेष अतिथि बनौंला तर समन्वय त हुनुपर्यो नि ।’
नेता पौडेलले भने केपी शर्मा ओलीको सरकारले सुनियोजित ढंगमै आफूलाई पक्राउ गरेको बताउनुभएको छ । तस्करको हातमा बाँधिएर प्रशासनले आफूलाई धरपकड गरेको भन्दै उनले यसको देशभर प्रतिरोध हुने बताउनुभएको थियो ।
सांसद श्रेष्ठले भने पौडेलकै कारण असामान्य अवस्था सिर्जना भएको बताउनुभयो । ‘मसँग चुनाव हारे पनि रामचन्द्र पौडेलप्रति मेरो सम्मान छ । उहाँ प्रमुख अतिथि हुँदा म विशेष अतिथि हुन पनि तयार छु,’ श्रेष्ठले भन्नुभयो, ‘तर, नगरपालिका र कांग्रेसले जे भन्यो त्यही त हुँदैन नि ।’
कांग्रेसले भने सत्तारुढ सांसद श्रेष्ठकै निर्देशन र योजना मुताबिक कार्यक्रम रोक्ने, निषेधाज्ञा गर्नेदेखि धरपकडसम्मको काम प्रशासनले गरेको आरोप लगाएको छ । श्रेष्ठले भने पौडेलकै कारण यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । ‘उहाँजत्तिको मान्छेले निषेधाज्ञा तोड्न हुँदैनथ्यो । कानुन र संविधान त मान्नु पर्छ नि,’ श्रेष्ठले भन्नुभयो, ‘५ वर्षका लागि माननीय त म हो नि । म पनि एक हजार जना मान्छे लगेर उद्घाटन गर्न सक्छु । अब मैले त्यसो गर्ने ?’
आरोप प्रत्यारोप आफ्नो ठाउँमा छ, दुबै नेताको कुरा सुन्दा प्रष्ट हुन्छ निर्माण सकिएको २ वर्षपछि पुन उद्घाटन लोभले बुधबार व्यास नगरमा तनाब सिर्जना भएको हो । निर्माण सकिएर जनताले सुविधा प्रयोग गरेसकेको भए पनि जस लिने र उद्घाटन गर्ने लोभका कारण विवाद सतहमा आएको छ ।
गृह जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रमा पक्राउ नै परेपछि पौडेलले अपमानित भएको महसुस गरेका छन् भने कांग्रेसले आन्दोलन गर्ने अवसरका रुपमा पनि हेरेको छ ।
बिहीबार बिरोध प्रदर्शनसहित पुल उद्घाटन
कांग्रेसका सभापति शेरबहादुर देउवादेखि तनहुँ, कास्कीका कांग्रेस जिल्ला कार्यसमितिले पनि बुधबारको घटनाप्रति खेद प्रकट गरेको छ । पोखरामा नेपाल विद्यार्थी संघले बुधबार साँझ नै विरोध प्रदर्शन गरेको छ । कांग्रेसको आह्वानमा दमौलीमा विरोध प्रदर्शन गरेर बिहीबार पौडेलबाटै बुल्दी पुलको उद्घाटन गर्ने तयारी छ ।
११ बजे कांग्रेस पार्टी कार्यालयमा भेट्ने र त्यसपछि सामूहिक रुपमा पुल उद्घाटनका लागि जानेबारे छलफल भइरहेको सांसद तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सरिता गुरुङले बताउनुभयो ।
उपभोक्ता समितिले बिहीबार अधुरो पुलको उद्घाटन गर्ने कार्यक्रम राखेको कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिनुभयो । विरोध कार्यक्रमका सहभागी हुन तनहुँका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी, ध्रुव वाग्ले लगायत पनि आउँदैछन् ।
(अनलाइन खबरबाट)