तनहुँ : नेपाली काङ्ग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले प्रजिअ र एसपीलाई जिल्ला छाड्न चेतावनी दिनुभएको छ । बुधबार प्रहरीले दमन गरेको भन्दै न्यौपानेले जिल्ला छाड्न प्रशासन प्रमुखलाई चेतावनी दिनुभएको हो ।
बुधबार पुल उदघाटनका लागि जाने क्रममा प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेतालाई पक्राउ गरेको थियो। “विगतमा प्रशासकलाई २४ घण्टे लगाएर सरुवा गराएको इतिहास छ,” बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा न्यौपानेले भन्नुभयो, “प्रहरी प्रशासनले कसैको इसारामा दमन गरेको छ ।”
बुधबार उदघाटन हुन नसकेको व्यास-१ र १० जोड्ने पक्की पुलको आज उदघाटन गर्ने तयारी सहित नेताहरु जुलुस सहित त्यसतर्फ लागेका छन् । कार्यक्रमलाई वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतका नेताले सम्बोधन गर्ने तयारी छ ।