तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित सङ्घ र प्रदेशका सांसदहरुले विधि र प्रकृया नमिच्न नेपाली काङ्ग्रेसलाई आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरोकारवाला कार्यालयसँग समन्वय नगरी आफूखुशी दुई वटा पुलको उद्घाटन गरेको भन्दै सांसदहरुले शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी विधि र प्रकृया नमिच्न आग्रह गर्नुभएको हो ।
सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष केदार सिग्देलले सङ्घीय सरकारमार्फत् निर्माण सम्पन्न भएको पुल सम्बन्धित मन्त्रालयलाई जानकारी नै नदिई उद्घाटन गर्नु गैरजिम्मेवारीपूर्ण कार्य भएको बताउनुभयो । “सरकार मातहत रहेको योजनाको उद्घाटन नितान्त सरकारी काम अन्तर्गतको हुन्छ, सोही अनुरुप तिनै निकायले उद्घाटन तयारी गरिरहँदा क्षेत्राधिकार बाहिर गई निर्वाचित सांसदहरुसँग कुनै समन्वय नगरी उद्घाटन कार्य अवैधानिक हुन्छ,” सिग्देलले भन्नुभयो ।
निर्वाचनमा पराजित नेताहरुले योजना उद्घाटन गर्दै हिँड्ने र निर्वाचित जनप्रतिनिधिलाई जानकारी नदिने कार्यले लोकतन्त्रको खिल्ली उडाएको सिग्देलको भनाई थियो । “व्यास नगरपालिकामार्फत् हुने विकास योजना विपक्षी पार्टीका नेताले आफूखुशी उद्घाटन र शिलान्यास गर्दै हिँडे के हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो, “त्यस्तै सङ्घीय सरकारको योजना सङ्घीय सरकारका निर्वाचित जनप्रतिनिधिले उद्घाटन गर्ने हो ।”
पुल उद्घाटनका विषयमा भएको विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेर उपयुक्त कदम चालेकामा सिग्देलले प्रशासनलाई धन्यवाद दिनुभयो । “निषेधाज्ञा नगरेको दुर्घटना हुन सक्थ्यो, प्रशासनले समन्वयकारी भूमिका खेल्यो,” उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको सम्पूर्ण विकास निर्माणको कामको जिम्मा नेकपाले लिने बताउनुभयो । नेपाली काङ्ग्रेसका नेताहरुले आफूविरुद्ध गलत प्रचार गरेको भन्दै सांसद सिग्देलले उक्त कुरा प्रमाणित गर्न चुनौति दिनुभयो । पूर्व सभामुख भइसकेको एक जना सम्मानित व्यक्तिले गलत प्रकृयाबाट भएको कार्यमा सहभागी हुन निन्दनीय र दुःखद कार्य भएको सांसद श्रेष्ठको भनाई थियो ।
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले जनताबाट निर्वाचित प्रतिनिधिलाई निषेध गरिनु गलत भएको बताउनुभयो । पत्रकार सम्मेलनमा सङ्घीय सांसद कलिला खान र गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने मुख्य अभिभारा जनताबाट निर्वाचित भएका जनप्रतिनिधिको मुख्य कार्यभार रहेको उल्लेख गर्नुभयो ।