तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गरेको छ । चालु आर्थिक वर्ष ०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो ।
गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । “सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग होस् भनेर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियौ, सोही बमोजिम ३० जना सुत्केरीलाई प्रोत्साहन रकम वितरण गरेका छौ,” रानाले भन्नुभयो ।
म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले विभिन्न वडाका ३० महिलाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । “सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरणा होस् भनेर प्रोत्साहन रकम प्रदान गर्ने गाउँपालिकाको नीति छ,” घिमिरेले भन्नुभयो । घरमा हुने सुत्केरीलाई शुन्यमा लैजाने गाउँपालिकाको उद्देश्य रहेको घिमिरेले बताउनुभयो । “अझै पनि धेरै महिलाहरुले घरमै सुत्केरी गराउने गरेका छन्, यसले जोखिम बढाउँछ,” उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा सुत्केरी गराए सुरक्षित हुने भएकाले यसबारेमा पनि सचेत गराएका छौ ।”
साेही कार्यक्रममा थर्पु स्वास्थ्यचाैकीमा कार्यरत अनमि सम्झना आले, जामुने स्वास्थ्यचाैकीमा कार्यरत अनमि नानुमाया आलेलाई नगद सहित प्रमाणपत्रबाट सम्मान गरिएकाे थियाे ।