बाहिनीमा पृथ्वीनारायण शाहको शालिक अनावरण (फाेटाे/भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाहिनीमा पृथ्वीनारायण शाहको शालिक अनावरण (फाेटाे/भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७७, शनिबार

    तनहुँ : नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो ।

    बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताउनुभयो । नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड थियो ।

    “आधुनिक नेपालको पहिलो सेना प्रमुखको रुपमा पृथ्वीनारायणलाई सेनाले अङ्गिकार गरेको छ,” थापाले भन्नुभयो, “उहाँकै सम्मानमा शालिक निर्माण गरेर अनावरण गर्न पाउँदा गौरवको महशुस भएको छ ।” यस परिकल्पनाकारलाई मूर्त रुप दिन तन, मन, वचन र कर्मले हरेक कार्यमा सहयोग गर्ने सबैलाई सहायक रथी थापाले धन्यवाद ज्ञापन गर्नुभयो ।

    निर्माण सम्पन्न भएको शालिकले बाहिनीको सौन्दर्यता बढाउन सहयोग पुगेको थापाले बताउनुभयो । विभिन्न व्यारेकमा पृथ्वीनारायण शाहको शालिक निर्माणले तीव्रता पाएको समेत थापाले सो अवसरमा जानकारी दिनुभयो ।

    पृथ्वीनारायणको पूर्णकदको शालिक निर्माणका लागि रु दुई लाख १४ हजार नौ सय ७१ खर्च भएको सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शालिक निर्माणमा श्री नम्बर ३ बाहिनी अड्डाले रु ५३ हजार सात सय ४३, श्रीजङ्ग गणले रु ४२ हजार नौ सय ७४, रणसिं दल गणले रु ४२ हजार नौ सय ९४ र भगवती दल गणले रु ३२ हजार दुई सय ४६, दुर्गाभञ्जन गुल्मले रु २१ हजार चार सय ९७, रणदल गुल्मले रु २१ हजार चार सय ९७ लागत सहभागिता व्यहोरेका छन् । सेनाकै तीन जना कालीगढले उक्त शालिक निर्माण गरेका हुन् ।

    सो अवसरमा सहायक रथी थापाले शालिक निर्माण गर्ने कालीगढलाई प्रशंसापत्रले सम्मान गर्नुभएको थियो ।