पुल बन्यो, अब बिरामी हुँदा बोकेर ल्याउनुपर्दैन”
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पुल बन्यो, अब बिरामी हुँदा बोकेर ल्याउनुपर्दैन”

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, शनिबार

    तनहुँ : “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पु¥याउनुपथ्र्यो ।”

    तनहुँको दक्षिणी भेगको रुपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका वासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनुपर्दैन । व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–१ जोड्ने सुढेस्थित सेती नदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको खण्डमा गाउँबाटै गाडीमा राखेर दमौली पु¥याउन सकिने भएको छ ।

    “अब चाँही सहज हुने भयो, गाडीमा २०÷३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ,” मल्लले भन्नुभयो, “दुःखका दिन सकियो ।” मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको जानकारी दिनुभयो । “पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो,” मल्लले भन्नुभयो ।

    ऋषिङ गाउँपालिका–४ नाजुङका वीरबहादुर थापा पनि सेतीनदीमा पक्की पुल निर्माण भएपछि खुशी हुनुहुन्छ । “पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुने भयो ।”

    सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँ मार्फत् उक्त पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाई रहेको उक्त पुल विसं २०७१ असार २९ गते निर्माण शुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । रु १० करोड ७१ लाख दुई सय ७८ लागत रहेको उक्त पुलको ठेक्का भरतपुरस्थित एडभेन्चर कन्स्ट्रक्सन प्रालिले पाएको थियो । उक्त पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।

    पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाइपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका वासिन्दालाई ठूलो राहत पुगेको बताउनुभयो । “पुल निर्माणका लागि विगतमा तीन पटकसम्म निर्णय गरेर तत्कालिन जिल्ला विकास समिति मार्फत् पहल गरेका थियौ,” उहाँले भन्नुभयो, “तर खै के कारणले हो पुलको योजना पर्न सकेन ।” लामो समयको प्रयासपछि पुल निर्माणका लागि बजेट परेको र पुल पनि निर्माण सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिनुभयो । “यो पुलले दक्षिणी भेगका वासिन्दाका लागि विकासको ढोका खुलेको छ,” उहाँले भन्नुभयो, “पैदल हिँडेर झोलुङ्गेपुल मार्फत् आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङतर्फको सडक साँघुरो रहेकाले गाउँपालिकाले त्यसलाई स्तरोन्नति गर्ने जानकारी दिनुभयो । “बाटो साँघुरो छ, केही ठाउँमा पहिराले अवरुद्ध पनि बनाएको छ, त्यसलाई तत्कालै स्तरोन्नति गर्छौ,” उहाँले भन्नुभयो । गाउँपालिकाले अबको गाउँसभाबाट रु ५० लाख बजेट विनियोजन गरेर बाटो स्तरोन्नति गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।