व्यास नपाका कर्मचारीलाई क्षमता विकास तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नपाका कर्मचारीलाई क्षमता विकास तालिम

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले कर्मचारीलाई क्षमता विकास तालिम आइतबारदेखि शुरु गरेको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा नगरपालिकाले कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तालिम शुरु गरेको हो ।

    पाँच दिनसम्म सञ्चालन हुने तालिममा दर्ता चलानी, फाइलिङ, अभिलेख, सिफारिस तथा व्यवहार, टिप्पणी लेखन, टिप्पणी लेखनको अभ्यास, जिन्सी र जिन्सी व्यवस्थापन, सामाजिक सुरक्षा, पञ्जीकरण, स्थानीय तहको काम, कर्तव्य, अधिकार, स्थानीय तहको न्यायिक अधिकार, सामुदायिक मेलमिलाप लगायतका विषयमा प्रशिक्षण दिइने प्रतिष्ठानका अनुसन्धान अधिकृत टकेन्द्र रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्थानीय तहको राजश्व अधिकार, कर तथा गैर कर राजश्व, राजश्व परिचालन, सम्पत्ति कर, भूमिकर, सार्वजनिक खरिद प्रकृयाका आधारभूत कुरा, लेखा परीक्षण र बेरुजु फछ्र्यौट लगायतका विषयमा पनि कर्मचारीलाई सिकाइनेछ ।

    तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीलाई दक्ष बनाउन तालिमको आवश्यकता रहेको बताउनुभयो । “जनप्रतिनिधि त आउने जाने भइरहन्छन्, कर्मचारी नै स्थायी सरकार हो, कर्मचारीमा निखारता ल्याउन तालिमको आवश्यकता हुन्छ,” वाग्लेले भन्नुभयो ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रशिक्षकको क्षमताले मात्र प्रशिक्षार्थीले सिक्ने भएकाले तालिमलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । कर्मचारीले व्यवहार सुधार गर्दै सेवाग्राहीमैत्री बन्नुपर्नेमा जोड दिँदै न्यौपानेले सेवामा निखारता ल्याउन तालिम फलदायी हुने बताउनुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कर्मचारी सबै कानुनबारे जानकारी हुनुपर्ने बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले कर्मचारीको माग बमोजिम तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

    प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी र कर्मचारीको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानहरुको संस्थागत सुधार एवं शासकीय क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना भएको हो ।

    प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवं निर्वाचित जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि तथा आवश्यक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश सरकार र स्थानीय तहका नीति, योजना, प्राथमिकता र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने, अध्ययन अनुसन्धानको माध्यमबाट नयाँ ज्ञानको सिर्जना र भइरहेको ज्ञानका क्षेत्रमा थप योगदान गर्ने लगायतका काम गर्ने गरेको छ ।

    उक्त कार्यक्रमकाे सञ्चालन नगरपालिकाका वरिष्ठ अधिकृत कुमारकन्चन जिसीले गर्नुभएकाे थियाे ।