तनहुँ : गण्डकी प्रदेशका विभिन्न जिल्लाका युनेस्को क्लबमा आवद्ध युनेस्को अभियान्ताका लागि दमौलीमा नेतृत्व तालिम प्रदान गरिएको छ । नेपाल युनेस्को सङ्घसंस्था तथा क्लबहरुको राष्ट्रिय महासङ्घले युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोग तथा दमौली युनेस्को क्लबको समन्वयमा तालिम प्रदान गरेको हो ।
शिक्षा, संस्कृति विज्ञान लगायतका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दे युनेस्को अभियानलाई थप विस्तारित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । तालिममा गण्डकी प्रदेशका ९ जिल्लाका २० जना युुवाहरुको सहभागिता थियो ।
कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा.बाबुराम अधिकारीले युनेस्को कार्यक्षेत्र, समितिको प्रकृति, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग तथा सचिवालयको संगठन तालिका, बजेट तथा कार्यक्रम लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै नेपाल युनेस्को सङ्घसंस्था तथा क्लबहरुको राष्ट्रिय महासङ्घका मानार्थ अध्यक्ष हरिवंश किरातले युनेस्कोको परिचय, युनेस्कोका आदर्श, उद्देश्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचना लगायतका विषयमा जानकारी गराउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मौलिकता र संस्कृति जोर्गनामा युनेस्कोको महत्वयुर्ण योगदान रहेको बताउनुभयो । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा.बाबुराम अधिकारीले युनेस्कोका कार्यक्रम र गतिविधि सबै स्थानीय तहमा विस्तार गर्न चाहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष दिपक सरकारले युनेस्को क्लब अबको समयमा हरेक स्थानीय तहका विभिन्न विषयगत क्षेत्रसँग सहकार्य गरी अघि बढ्न चाहेको बताउनुभयो । नेपाल युनेस्को सङ्घसंस्था तथा क्लबहरुको राष्ट्रिय महासङ्घका अध्यक्ष आनन्दराज त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासङ्घका उपाध्यक्ष एवं दमौली युनेस्को क्लबका अध्यक्ष प्रदीप काफ्लेले स्वागत गर्नुभएको थियो ।