तनहुँ : बाराको सिमरामा २० करोड लगानीमा होटल क्लासिक प्लाजा संचालनमा आएको छ। तनहुँका सांसद कृष्णकुमार श्रेष्ठको लगानी रहेको यो होटल शुक्रबार सफ्ट ओपनिङ गरिएको छ।
श्रेष्ठको सिमरामै क्लासिक म्याट्रेस उद्योग पनि छ। उनले सिमरामै व्यवसायिक कृषि खेती समेत गरिरहेका छन्। सिमराको विमानस्थलसँगै जोडिएको एक विघा जग्गामा निर्माण भएको होटलमा ४७ वटा कोठा छन्। ‘यो सिमराको सुविधा सम्पन्न तीन तारे होटल हो। होटलसँगै विवाह, ब्रतबन्ध लगायतका कार्यक्रम र पार्टीका लागि पाँच सय जना अट्ने पार्टी हल समेत छ,’ उहॉले भन्नुभयो, ‘त्यो वाहेक एक हजार जना अट्ने थियटर गार्डेन पनि छ।’
यो होटल भारतीय सीमा क्षेत्रबाट विवाहका लागि नेपाल आउनेलाई लक्षित गरिएको छ। पछिल्लो केही वर्षदेखि भारतबाट विवाहकै लागि वीरगंज र सिमराका होटलमा आउने प्रचलन बढ्दो क्रममा छ। सिमरामा अहिले होटल इच्छा संचालनमा छ। त्यो वाहेक विवाह लगायतको ठूलो पार्टीका लागि आवश्यक होटल निर्माण भइसकेका छैनन्।
श्रेष्ठले भारतीय लगायत बारा-पर्सा औद्योगिक क्षेत्रमा आउने उद्योगी व्यवसायीलाई स्तरीय सेवा दिने उदेश्यले संचालनमा ल्याएको बताउनुभयो । ‘सिमरा हस्पिटालिटीमा अपार सम्भावना भएको क्षेत्र हो। यहाँ औद्योगिक क्षेत्र मात्रै होइन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दैछ,’ उहॉले भन्नुभयो, ‘केही वर्षमा यो क्षेत्र देशकै नमुना क्षेत्र बन्नेछ। त्यही सम्भावना देखेर हामीले होटल खोलेका हौं।’ त्यो वाहेक शनिबारदेखि सिमराबाट माउन्टेन फ्लाइट समेत सुरु हुँदैछ। केही समयभित्रै सिमरा-पोखरा हवाई उडान समेत सुरु हुँदैछ।
‘सिमरा पर्यटकीय हिसाबले पनि विस्तारै हब बन्दैछ। माउन्टेन फ्लाइटदेखि सीधा पोखरा उडानसँगै नेपाल आउने भारतीय पर्यटकको समेत आकर्षण रहने निश्चित छ,’ श्रेष्ठले भन्नुभयो, ‘पर्सा राष्ट्रिय निकुन्ज, विश्व प्रसिद्ध गढीमाई मन्दिर, सिम्रौनगढ लगायतका पर्यटकीय स्थल समेत छ। होटलमा जिम हाउस, स्वीमिङ पुल, स्पा लगायत छ। होटलमा हनिमुन स्वीट, कपल स्वीट, प्रेसिडेन्ट स्वीट, लक्जरी र डिलक्स रुम छन्।
(बिजमान्डुबाट)