तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गर्नुभएको छ । मंसिर १७ गते तनहुँको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडकखण्ड अन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा सोमबार दमौलीमा आयोजित सभालाई सम्बोधनको शुरुवातमै गर्जदै रिजालले भन्नुभयो, ‘ओली सरकारलाई संविधानको एउटै धारा प्यारो छ, । त्यो २९८ धारा, जसबाट प्रधानमन्त्री ओली निर्वाचित भएका थिए ।’
उहाँले अन्तरिम व्यवस्थामा संविधान बनाउने क्रममा पटकपटक बैठकमा बसको स्मरण गर्दै अगाडी थप्नुभयो, ‘ओलीका मानिसहरुलाई संविधानका कुनै धारासँग मतलब थिएन । ओलीलाई सधैँ संविधान जारी भएपछि एक हप्ताभित्र संसदको अधिवेशन बोलाउने र त्यो एक हप्ता भएपछि प्रधानमन्त्री छान्ने, त्यो बाहेक अर्को कुनै धारा ओलीका लागि आवश्यक थिएन् ।’
नेपाली कांग्रेस संविधानको हरेक धारा जोगाउनलाई प्रतिबद्ध भएर उभिएको उहाँको दाबी छ । ६० वर्षभन्दा लामो संघर्षबाट प्राप्त संविधानको धारा–धारामा शहिदको रगत मिसिएको उहाँले सुनाउनुभयो । कुनैपनि हालतमा संविधानको व्यवस्था बदल्न नदिने जिकिर थियो ।
संसदमा नेकपाको दुई तिहाई बहुमत भएपनि जनताको भने झिनो मतले कांग्रेस पराजित भएको नेता रिजालले दाबी गर्नुभयो । संसद अधिवेशनमा शक्तिशाली मानिएका ओली संसद अधिवेशन अन्त्य गरेर संसदबाट भागेको उहाँले आरोप लगाउनुभयो । उहाँले कांग्रेसलाई सत्ताभन्दा जनता प्यारो भएको उल्लेख गर्नुभयो । बुल्दी खोला पुल उद्घाटनको क्रममा निषेधाज्ञा जारी गर्दै सिडिओले मण्डलेतन्त्रलाई सघाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गाेविन्द भट्टराईले काङ्ग्रेस फेरि माैलाएर आउने बताउनुभयाे । जिल्ला सभापति बैकुण्ठ न्याैपानेले पैसाकाे आडमा चुनाव जितेकाले जनतालाई झुक्याउने काम गरेकाे आराेप लगाउनुभयाे ।
मंसिर १७ गते तनहुँमा पौडेलमाथि भएको धरपकडको विरुद्धमा कांग्रेसको केन्द्रीय समितिले ७७ जिल्लामै बृहत प्रदर्शनसंगै विरोध सभा गरेको छ । तनहुँमा भएको विरोधसभामा कोरोना संक्रमणको कहर भुलेर गाउँ–गाउँबाट कांग्रेस समर्थक दमौली बजार ओर्लिएका थिए । दमौलीस्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयबाट निस्किएको विरोध ¥याली खुलामैदानमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले कांग्रेसको झण्डा फहराउँदै ओली सरकार बिरुद्ध चर्को नारा लगाएका थिए ।