तनहुँ हाइड्रोको सहयोगमा बिरुवा उत्पादन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ हाइड्रोको सहयोगमा बिरुवा उत्पादन

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँ जलविद्युत आयोजनाको सहयोगमा बिरुवा उत्पादन गरिने भएको छ । डिभिजन वन कार्यालय तनहुँले आयोजनाको सहयोगमा बिरुवा उत्पादन गर्न लागेको हो ।

          तनहुँ जलविद्युत आयोजनाले ४ सय १६ हेक्टर वन क्षेत्र डुबानमा पार्ने भएकाले आयोजनाले उक्त रुख काटे बापत बिरुवा रोपण गर्नुपर्ने प्रावधान रहेको छ । सोही बमोजिम आयोजनाले डिभिजन वन कार्यालयलाई रकम उपलब्ध गराएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।

    “प्रति रुख काटे बापत २५ बिरुवा उत्पादन गरेर संरक्षण गर्नुपर्ने दायित्व आयोजनाको हो, तर आयोजनाले उक्त काम आफैले नगरेपछि वन कार्यालयलाई पैसा प्राप्त भएको छ,” उहाँले भन्नुभयो, “उक्त रकमबाट वन कार्यालय मार्फत् बिरुवा उत्पादन गरेका छौ ।”

    कार्यालयले गत वर्ष आयोजनाको सहयोगमा पाँच लाख ३० हजार बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गरेको थियो । यस वर्ष पनि डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालयको नर्सरी साथै निजी क्षेत्रबाटबाट बिरुवा उत्पादन गर्ने तयारी गरिएको छ ।

    कार्यालयभन्दा बाहिरबाट बिरुवा उत्पादनका लागि कार्यालयले प्रस्ताव आह्वान गरेको छ । इच्छुक दर्तावाल निजी नर्सरी, कृषि सहकारी तथा अन्य इच्छुक सङ्घसंस्थाले कार्यालयमा प्रस्ताव पेश गर्न सक्नेछन् । उहाँका अनुसार प्रस्ताव बमोजिम दुई लाख बिरुवा उत्पादन गर्ने लक्ष्य छ ।

    तनहुँ जिल्ला बिरुवा उत्पादनको हबको रुपमा विकसित भइरहेको छ । गण्डकी प्रदेशका एघार जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गर्ने गरेको छ । कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन गरेर जिल्लाभित्र र बाहिर वितरण गर्ने गरेको छ ।

          डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्ष ८ लाख ८८ हजार बिरुवा उत्पादन गरेको थियो । कार्यालयबाट चाँप, रुदाक्ष, नारेश्वर, तेजपात, बेल, कुरिलो, कल्कीफूल, पिपल, सुगन्धकोकिला, रुख कटहर, ज्याकराण्डा, श्रीखण्ड, गुलाब, जामुना, गुलमोहर लप्सी, अम्बा, टाँकी, अमला, ड्रागन फ्रुट, बडहर, सिसौ, अशोक, बकाइनो, खयर, मेगो स्टीन चिउरी, टिक, ल्यागरस्ट्रोमिया लगायतका बिरुवा उत्पादन गरेर वितरण गरिएको छ ।

          कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षारोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडी बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।