स्थानीय तहको कार्य प्रगति बुझ्दै समन्वय समिति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय तहको कार्य प्रगति बुझ्दै समन्वय समिति

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    तनहुँ : जिल्ला समन्वय समिति तनहुँले स्थानीय तहमा सञ्चालन भएका योजनाको प्रगति विवरण बुझ्न अनुगमन शुरु गरेको छ । चालु आर्थिक वर्ष ०७७/७८ का लागि स्वीकृत वार्षिक योजनाहरुको कार्य प्रगति विवरण जानकारी लिने उद्देश्यले समन्वय समितिले स्थानीय तहको अनुगमन शुरु गरेको हो ।

          समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा समितिले आइतबार बन्दीपुर गाउँपालिकाले सञ्चालन गरेका योजनाको बारेमा जानकारी लिएको छ । संविधानले स्थानीय तहले गरेका कामको अनुगमनको जिम्मेवारी दिएकाले समन्वय समितिले सोही बमोजिम अनुगमन शुरु गरेको समन्वय समितिका प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

          समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले बन्दीपुरमा चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विकास योजना, काम गर्दा आइपरेका समस्या लगायतका विषयमा जानकारी लिइएको बताउनुभयो । “स्थानीय तहमा भइरहेका योजनाको बारेमा जानकारी लिँदै आइपरेका समस्या बुझ्ने र प्रदेश र सङ्घीय सरकारलाई जानकारी गराउने उद्देश्य हो,” उहाँले भन्नुभयो, “जिल्लाका सबै स्थानीय तहमा अनुगमन गर्छौ ।”

          बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोभिड–१९ का कारण विकास योजना सञ्चालनमा कठिनाई भएपनि हाल विस्तारै कामले गति लिएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले मिनी पदमार्ग पर्खाल निर्माणलाई महत्वका साथ सञ्चालन गरिरहेको छ । “बन्दीपुर पर्यटकीय नगरी भएकाले पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएका छौ,” उहाँले भन्नुभयो ।

          अनुगमनमा समन्वय समितिका प्रमुख वाग्ले सहित उपप्रमुख पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी लगायत सहभागी हुनुहुन्थ्यो । जिल्ला समन्वय समितिलाई जल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने र सो को अनुगमन गर्ने, जिल्लामा रहने स्थानीय र प्रदेशका सरकारी कार्यालय स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी रहेको छ ।